सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर
गुगलपाटी संवाददाता काठमाडौंँरु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको छ ।
निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गरेका छन् । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भने ।
सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।
आगामी दिनमा आयात शून्य प्रतिशतमा जाने अपेक्षा गरिएको व्यवसायीले बताएका छन् । नेपालमा वार्षिक १० प्रतिशतले सिमेन्ट उत्पादनमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७६र०७७ सालदेखि नेपालमा उत्पादित सिमेन्ट निर्यात हुने जनाइएको छ । लागत मूल्य कम गर्न नसकेकाले समस्या बढी रहेको उनीहरूको भनाइ छ ।
विश्वमै महँगो उत्पादनका रूपमा नेपालको सिमेन्ट रहेको बताइएको छ । आगामी वर्ष एक करोड १० लाख टन माग हुने र उत्पादन भने एक करोड ७० लाख टनमा पुग्ने अनुमान गरिएको छ । “त्यसैले अब निर्याततर्फ हामी जानै पर्छ”, सङ्घका महानिर्देशक गोकुल धितालले भने । विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेको । सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको थापाले जानकारी दिए ।