पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने

गुगलपाटी संवाददाता पोखरा
१८ माघ २०७५ ०८:५३

गाउँ पर्यटन प्रवर्दन मन्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । पोखरामा फागुनको तेस्रो साता ग्रामीण पर्यटन महोत्सव हुने भएको हो ।

महोत्सव फेवाताल किनार बाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । महोत्सवमा गण्डकी प्रदेशका ५० भन्दा बढी होमस्टेहरुका स्टल रहने आयोजकले जनाएको छ ।

महोत्सवमा राखिएका होमस्टे मध्ये होमस्टे स्टल, कल्चर र खानाका परिकारलाई नगदसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । महोत्सवमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाईसमेत नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।