संसदीय समितिको बैठक कांग्रेसद्वारा बहिष्कार

गुगलपाटी संवाददाता काठमाडौं
२० माघ २०७५ १०:०४

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषदले संवैधानिक आयोगमा गरेको सिफारिसप्रति असहमति जनाउँदै संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा संवैधानिक परिषदको माघ ६ गते बसेको बैठकले सिफारिस गरेका संवैधानिक आयोगका प्रमुखहरुको उजुरी आह्वान गर्न बोलाइएको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान र पुष्पा भुषालले बैठक बहिष्कार गरेका हन् ।

तर कांगे्रेसका सांसदले बहिष्कार गरे पनि समितिले प्रस्तावित संवैधानिक आयोगका प्रमुखहरुको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदको निर्णय बदर गर्ने अधिकार समितिलाई नरहेको उल्लेख गर्दै सो सिफारिसका सम्बन्धमा सुनुवाई गर्न उजुरी आह्वान गरिएको जानकारी दिए ।