हतियार कारखानामा प्रहरी छापा, अवैध हतियारसहित दुईजना पक्राउ
गुगलपाटी संवाददातादाङ : दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाएको छ ।प्रहरीले कारखानाबाट ठूलो परिमाणमा हतियार र हतियार बनाउने कच्चा पदार्थसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका-७ भौवानाबाट तयारी हतियार र हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित २ जनालाई पक्राउ गरेको हो ।
हतियार बनाउने कारखानाबाटै त्यही स्थानका ५९ वर्षीय जीतबहादुर बुढा र ३८ वर्षीय रुद्रमनी घर्तीलाई पक्राउ गरेको हो । घरमै हतियार बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।
पक्राउ परेकाको कारखानाबाट भरुवा बन्दुक ५ थान, १२ बोर राइफल एक थान, एयरगन ३ थान, कटुवा पेस्तोल र रिभल्भर १/१ थान प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी सानो हतियारको नाल १२ थान, ठुलो हतियारको नाल २९ थान बरामद गरिएको छ । प्रहरीले हतियार बनाउन प्रयोग हुने सामाग्री पनि ठुलो मात्रामा बरामद गरेको छ ।
भौवा नाकामा अवैधरुपमा घरेलु हातहतियार निर्माण हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । लामो निगरानीपछि हतियार कारखाना पत्ता लागेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । अन्नपूर्ण पोष्टमा समाचार छ ।