आज सोनाम ल्होसार, ३ नम्बर प्रदेशमा बिदा, बकैया गाउँपालिकामा २ दिन बिदा

गुगलपाटी संवाददाता
२२ माघ २०७५ ००:३८

हेटौंडा– आज २८५५ औं सोनाम ल्होसार, तामाङ समुदायले नयाँवर्षको रुपमा मनाउने पर्वमा ३ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

माघ ९ गते बसेको ३ नम्बर प्रदेशको मन्त्रपरिषद्को बैठक अनुसार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको ३ नम्बर मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसअघि प्रदेश सरकारले माघ १६ गते शहीद दिवसको दिनमा पनि प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको थियो । सोनाम ल्होसारको अवसरमा मकवानपुरका जिल्लाका तीनवटा गाउँपालिकाले समेत बिदा दिने निर्णय गरेको छ । मकवानपुर जिल्लाको राक्सिराङ, बकैया र बागमती गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको सन्दर्भ पारेर सार्वजनिक विदाको घोषणा गरेको हो ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक सूचना प्रकाशित गरी ल्होसारका दिन गाउँपालिकाभित्रका सबै शिक्षण संस्था तथा सरकारी कार्यालयमा सार्वजनिक बिदाको घोषणा गरेका हुन् । तामाङ जातीको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा उनीहरुको पर्वलाई मध्येनजर गरी बिदा दिइएको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउापालिकाले पनि उक्त दिने बिदा दिने घोषणा यसअघि नै गरिसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।

बागमती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ समुदायको बसोबास रहेको छ । क्षेत्रफलको हिसावले देशकै सवैभन्दा ठूलो बकैया गाउँपालिकाले भने ल्होसारको अवसरमा दुईदिन बिदा घोषणा गरेको छ । कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार र भोलि बुधबार गाउँपालिकामा सार्बजनिक बिदा दिइएको छ ।