पूर्ण खोपयुक्त मकवानपुरमा दादुराको प्रकोप
गुगलपाटी संवाददाताहेटौंडा– दुई वर्ष अगाडि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मकवानपुरमा दादुराको प्रकोप देखिएको छ ।
मकवानपुरको पश्चिमक्षेत्रस्थित जिल्लाको विकट कैलाश गाउँपालिका–८ धुसाराङका पाँचजनामा दादुरा देखिएको हो । मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरुमा रगत जाँच गर्दा दादुराको संक्रमण भएको पाइएको हो ।
त्यसपछि मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले धुसाराङमा पुगी नमूना रगत संकलन गरी जाँच गरेको थियो । सो क्रममा ६ जनाको रगत परिक्षण गर्दा ५ जनामा दादुरा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशिकान्त सिंहले बताए ।
उनका अनुसार दादुराको संक्रमण पाइएपछि कैलाश गाउँपालिका, जनस्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य संगठनको हेटौंडास्थित कार्यालयले चासो व्यक्त गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
एकजना गर्भवतीसहित अन्य ४ जनामा दादुरा देखिएपछि गर्भवतीलाई उपचारका लागि भरतपुर पठाइएको थियो । गर्भवतीबाहेक अन्य संक्रमणमा परेकाहरु ४ बर्षदेखि ८ बर्ष उमेर समूहका छन् ।