भोलिबाट हेटौंडामा एकसाथ फुटबल, भलिबल र तेक्वान्दो प्रतियोगिता सुरु हुँदै
गुगलपाटी संवाददाताहेटौंडा– मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा जिल्लास्तरीय अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ ।
माघ २५गतेदेखि हुने प्रतियोगितामा २० विद्यालयहरुको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार दोस्रोले १५ हजार र तेस्रो हुनेले ५ हजार नगद सहित शिल्ड मेडल प्राप्त गर्ने संघका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । प्रतियोगिताका लागि १ लाख ५७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।
अन्तर प्राविधिक कलेजस्तरीय फुटबल
मदन भण्डारी स्पोर्टस् एकेडेमी वन विज्ञान समूहको आयोजनामा माघ २५गतेबाट अन्तर प्राविधिक कलेजस्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एकेडेमीले प्रतियोगितामा देशभरका प्राविधिक कलेजबाट ११ वटा टिमको सहभागिता रहने जानकारी दिएको छ । प्रतियोगिता नक आउटका आधारमा खेलाइने प्रतियोगिता संयोजक सुपेन लामाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीहरुलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता
मकवानपुर तेक्वान्दो डोजाङको आयोजनामा शुक्रबारबाट १४ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
शनिबारसम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहमा २०० जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक निरुकुमारी मगरले जानकारी दिइन् । प्रतियोगिताको विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि करिब १ लाख १७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा महिलातर्फ ५ वटा तौल समूह, पुरुष तर्फ सिनियरमा ३ वटा तौल समूह र जुनियर तर्फ ६ वटा तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।