नक्कली सुन काण्ड नसेलाउँदै ८४ लाखको नक्कली लसुन काण्ड
गुगलपाटी संवाददाताकाठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान कक्षको ढोकैमा केही थान बोरा देखिन्छन् । बोराभित्र छाम्दा ढुंगाजस्तो सारो वस्तु छ। बोराभित्र भएको वस्तु बाहिर निकाल्दा लसुनको आकार र रंगका साना केस्रा भेटिन्छन्। हातले कोट्याउन कठिन ती केस्रा सुँघ्दा गन्धहीन छन्।
काठमाडौं प्रहरी यतिबेला सेतो रंगको त्यही गन्धहीन वस्तुको अनुसन्धान गरिरहेको छ। जसलाई देखाएर ८४ लाख रुपैयाँ ठगी भएको उजुरी परिसरमा परेको छ। आफू ठगिएको उजुरी लिएर होमबहादुर बिक प्रहरी कार्यालय आएका थिए।
बिकले वनस्पति विभागमा जाँच गराँउदा ८४ लाखमा खरिद गरेको बस्तु दुर्लभ वन लसुन नभएको पक्का भएको छ। प्रहरीले बरामद गरेको नक्कली बन लसुन करिब ३ सय किलो छ।
अन्नपूर्ण संरक्षित क्षेत्र र पश्चिमका हिमाली जिल्लामा पाइने वन लसुन दुर्लभ औषधीजन्य वनस्पति हो। सरकारले दुई वर्षमा एकपटक खन्न अनुमति दिने यस्तो लसुन १४ देखि ३० हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने गर्छ।
वन लसुन कानुनी एवं गैरकानुनी दुवै किसिमबाट तिब्बततर्फ निकासी हुने गरेको छ। घाउ लागेको ठाउँ तथा शल्यक्रिया गरेका बिरामीका लागि औषधिका रूपमा यो प्रयोग गरिन्छ। करिब २ हजार ५ सयदेखि ५ हजार मिटरसम्म उचाइमा रहेको जंगलमा पाइन्छ।
तर महानगरीय प्रहरीकाअनुसार कार्यालयमा अलपत्र रहेको ३ सय किलो सेतो पदार्थ नक्कली वन लसुन हो। मकवानपुरका सुरेश भुजेल मार्फत काठमाडौं सोल्टीमोडकी माया तामाङबाट होमबहादुरले खरिद गरेका थिए। ठगिएको थाहा पाएपछि पैसा फिर्ता गराउन उनी प्रहरी शरणमा पुगेका हुन्।
प्रहरीमा होमबहादुरले जाहेरीसहित जिल्ला वन कार्यालय लमजुङ र काठमाडौंले वन लसुनको ओसारपसारका लागि दिएको छुट पत्र समेत समावेश गरेका छन्। यसले दुई जिल्लाका वन कार्यालय समेत घटनामा ठगिएको पुष्टि भएको छ।
नक्कली सुन र डलरपछि काठमाडौं प्रहरीका लागि नक्कली लसुन यतिबेला टाउको दुःखाई बनेको हो।
होमबहादुरलाई माया, सुरेश, राकेश रोक्का र पासाङ लामाले योजना बनाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार माया र पासाङलाई नियन्त्रणमा लिई ठगी मुद्दामा कारबाही अघि बढाएको छ। राकेश फरार रहेका छन्।
‘बरामद नक्कली लसुन विभिन्न ब्यक्तिलाई ठगी गर्ने साधनका रुपमा दुरुपयोग भएको पाएका छौं,’ एसएसपी लामाले भने ‘यस प्रकारको ठगी बढ्न सक्छ। सर्वसाधारण सचेत हुन जरुरी छ।’