छुट्टाछुट्टै दूर्घटनामा ५ जनाको मृत्यु
गुगलपाटी संवाददाताहेटौंडा– सिन्धुली, तनहुँ र चितवनमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सिन्धुली र तनहुँमा दुई(दुई जना र चितवनमा एक जनाको मृत्यु भएको हो ।
वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका(९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामा रहेका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका(१ कठोरेबाट काभ्रेको तेमालतर्फ फर्किँदै गरेका जन्ती सवार टिपर सिन्धुलीको सुनकोशी गाउँपालिका(२ कमेरेफाँटस्थित वीपी राजमार्गमा अनियन्त्रित भई सडक छेउँमा पल्टिएको थियो ।
बेहुला(बेहुली अर्को गाडीमा रहेकाले उनीहरु सकुशल रहेको सिन्धुली प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई काठमाडौंको ट्रमा सेन्टर, धुलीखेल अस्पताल लगायतका ठाउँमा उपचार भइरहेको छ
प्रहरीले टिपर चालक रामेछापको खाँडादेवी गाउँपालिका(१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
तनहुँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका(५ स्थित झारगाउँमा ग २ च ३२७० नम्बरको जीप गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका(५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ छन् ।
उनीहरुको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका(६ जालभञ्ज्याङतर्फ जाँदै गरेको उक्त जीप कच्ची सडकबाट ५० मिटर तल खसेको थियो ।
कुरिनघाटमा बसको ठक्करबाट एक जनाको मृत्यु
यसैबीच चितवनको इच्छाकामना गाउँपालिका(३ कुरिनघाटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ग ३ ख ३२६९ नम्बरको बसले लु ५ प ६८५६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।
मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीका अनुसार थापाको ठेगाना इच्छाकामना गाउँपालिका– ४ लेवाटार हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।