बलात्कारको आरोपमा वडा अध्यक्ष रेग्मी पक्राउ
गुगलपाटी संवाददाता दमौलीतनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । पुर्पक्षका लागि थुनामा रहेका रेग्मीले सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
उनलाई जिल्ला न्यायाधीश दीपक ढकालको एकल इजलासले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
पीडित महिलाले गत मङ्सिर ६ गते रेग्मीले आफूलाई बलात्कार गरेको निवेदन इलाका प्रहरी कार्यालयमा दिएपछि फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
कुटपिट गरेको भन्दै तीनजना पक्राउ
तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा कुटपिटको अभियोगमा तीन युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १७ वर्षीय सुजन आले, १९ वर्षीय मनोज राना र २८ वर्षीय सन्तबहादुर थापा छन् ।
डाँडाथोकमा विवाहको भोजमा भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाका युवाबीच झगडा भएकामा भिमाद नगरपालिका–४ बस्ने १४ वर्षीय निशान रानासमेतलाई कुटपिट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जनाएको छ । कुटपिटबाट घाइते चारको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।