जिल्ला फुटबल संघमा लामा

गुगलपाटी संवाददाता मकवानपुर
२३ चैत्र २०७४ ०९:४६

मकवानपुर जिल्ला फुटबल संघको जिल्ला अधिवेशनले टिका लामाको अध्यक्षतामा जिल्ला कार्यसमिति निर्माण गरेको छ ।
आज हेटौँडामा भएको अधिवेशनले लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो । पटक—पटकको विवाद पछि भएको अधिवेशनले आज भने मान्यता पाएको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा अजय मानन्धर, तृतिय उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा युनाल मल्ल, अमृत लुङ्वा, सञ्जयकुमार महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, अतुल बर्मा, विमल श्रेष्ठ, मनिष श्रेष्ठ, छवि सुवेदी र शुसिला अर्याललाई चयन गरेको छ ।

गत माघ ५ गते भएको अधिवेशनमा केन्द्रीय प्रथिनिधि आएका अखिल नेपाल फुटबल संघका मणी कुँवरले अधिवेशन छोडेर हिडेका थिए । अधिवेशन छोडेर हिडेपनि लामाकै नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरिएको थियो । तर चैत्र १४ को लागि तय भएको एनफाको केन्द्रीय अधिवेशनमा मकवानपुर र भक्तपुरको विवादको कारण भन्दै उच्च अदालत पाटनले अधिवेशन रोक्नको लागि एनफालाई आदेश दिएपछि आज हेटौँडामा सहमतिको आधारमा अधिवेशन भएको हो ।

तात्कालिन मकवानपुर फुटबल संघका वरिष्ट उपाध्यक्ष मनिष श्रेष्ठले उच्च अदालतमा आफ्नो प्रतिनिधित्व नभै अधिवेशन गरेको भन्दै रिट दायर गरेपछि त्यसको प्रभाव एनफाको केन्द्रीय अधिवेशनमानै परेको थियो ।

आजको अधिवेशनमा भने एनफाको केन्द्रीय कमिटिले उपमहासचिव समेत रहेका सञ्जिव मिश्रलाई प्रतिनिधि बनाएर पठाएको छ । मिश्रकै अगुवाईमा अधिवेशन भएको हो । अधिवेशनमा बोल्दै मिश्रले अब आउँदो २७ गते भक्तपुरमा पनि अधिवेशन हुने र बैशाखभित्र केन्द्रीय अधिवेशन हुने बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फिफा रेफ्रि कल्पना शर्मा लगाएतको सहभागिता रहेको थियो ।