भेनेजुयला बक्तव्यको कारण नेकपामा दुई धार

गुगलपाटी संवाददाता
२५ माघ २०७५ ०२:४१

काठमाडौँ — भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् ।

हालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए । दाहालले भने आफ्नोवक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् ।

ओलीले दाहालको वक्तव्यप्रति संकेत गर्दै त्यसलाई ‘एउटा व्यक्ति’ को भनाइका रूपमा व्याख्या गरे । आफू नभएका बेला अध्यक्ष दाहालको वक्तव्य आएकामा पनि उनले असन्तुष्टि व्यक्त गरे । ‘अघिल्लै दिन वक्तव्य नदिई नहुने जरुरी थिएन, भोलिपल्ट म आउँदै थिएँ,’ ओलीले आफ्नै नियमित कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बुधबार भनेका थिए । ओलीले यसो भनेलगत्तै दाहालले बिहीबार आफ्नो अडान दोहोर्‍याएका छन् ।

प्रधानमन्त्रीको भनाइ आफूलाई जानकारी नभएको भन्दै कुरा सुरु गरेका दाहालले बिहीबार भरतपुरमा सञ्चारकर्मीसँग आफूले पहिले जारी गरेको वक्तव्य नै सही भएको उल्लेख गरे । उनले ‘शब्द चिप्लिएको’ भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्ने शैलीमा भने, ‘त्यो एउटा राजनीतिक वक्तव्य थियो, एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाह्य हस्तक्षेप कतैबाट नहोस् भन्ने उद्देश्यका साथ दिइएको थियो ।’

दाहालले माघ ११ गते भेनेजुएलाको राजनीतिक संकटबारे वक्तव्य जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रको हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेका थिए । त्यस्तै भेनेजुएलामा साम्राज्यवादी ‘कु’ गर्न खोजिएको टिप्पणी दाहालले गरेका थिए । यस्ता कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन पनि दाहालले आग्रह गरेका थिए ।

सत्तारूढ दलका अध्यक्षबाट सिधै आफूप्रति लाञ्छित गरिएको वक्तव्य आएपछि अमेरिकी दूतावासले नेपाल सरकारको धारणा मागेको थियो । उता अमेरिकामा विदेश मन्त्रालयले नेपाली राजदूत अर्जुन कार्कीसँग सोधपुछ गरेको थियो । यता परराष्ट्र मन्त्रालयले दाहालको भन्दा केही नरम भाषामा वक्तव्य जारी गरेको थियो । त्यो वक्तव्यबाट पनि अमेरिकीले चित्त नबुझाएपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीले अमेरिकी राजदूतलाई छुट्टाछुट्टै बोलाएर सम्झाए ।

यही बीचमा नेकपाको सचिवालय बैठकले समेत यसबारे थप धारणा सार्वजनिक गर्‍यो । त्यसमा दाहालको भन्दा केही भाषा नरम बनाएर भेनेजुएलाको राजनीतिक संकट त्यहींका जनताले समाधान गर्नुपर्ने खालको वक्तव्य नेकपाका महासचिव विष्णु पौडेलले जारी गरे ।

सचिवालय बैठक र परराष्ट्रको वक्तव्यलाई दाहालले आफ्नै वक्तव्यको निरन्तरता भनेका छन् । ‘परराष्ट्र मन्त्रालयबाट जो वक्तव्य जारी भयो, त्यो पनि मूलतस् त्यही भावनामै आयो, अस्ति प्रधानमन्त्रीजीसमेत हामी सचिवालयको बैठक बसेर पनि हस्तक्षेपका विरोधमा नै वक्तव्य जारी भएको हुनाले अब अरू कुराले अर्थ राख्दैन,’ दाहालले बिहीबार भरतपुरमा भने, ‘सचिवालयको बैठकले समेत त्यही खालको वक्तव्य जारी गरिसकेपछि अब को व्यक्तिले के भन्छ, त्यसले अर्थ राख्दैन ।’

ठयाक्कै यस्तै धारणा प्रधानमन्त्री ओलीले बुधबार राखेका थिए । ‘कोही एक जना साथीले वक्तव्य दिनुभयो, यसले कुनै देश देशको सम्बन्ध बिग्रिहाल्ने हुँदैन,’ उनले भनेका थिए, ‘म नेपालमै भएको भए यस्तो वक्तव्य आउने थिएन, हाम्रो सुस्पष्ट नीति छ, त्यसैले यस्तो हुने थिएन ।’

आजका  कान्तिपुर दैनिकमा समाचार छ ।