मनको पीडालाई गाँठो नबनाउनुहोस्, रुनुहोस्, निर्धक्क रुनुहोस् ।
गुगलपाटी संवाददाता‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’
आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो ।
जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा होस् वा दुःखमा हामी रुन्छौं । रुनु कमजोरी होइन । बरु स्वाभाविक मानवीय प्रवृत्ति हो ।
तर, आज हामी भन्छौं, रुन हुँदैन । रुनु भनेको कमजोरी देखाउनु हो ।
तर, अध्ययनले भन्छ, रुनुपर्छ । रुनु एक प्राकृतिक उपचार हो ।
खासगरी दुःख, पीडा, वेदनाको संकेत हो, रुनु । जब मन थाम्नै गाह्रो हुनेगरी हामीलाई पीडावोध हुन्छ, अनायसै मन रसाउँछ । र, आँखाबाट आँशु छचल्किन्छ ।
तर, यसरी रुनुलाई हामी नामर्दपनको संज्ञा दिन्छौं । कमजोरीको लक्षण भन्छौं । त्यही कारण चाहेर पनि रुनका लागि हामी छुट दिदैनांै । जबकि रुनु आफैंमा राम्रो हो ।
तपाईं सम्झनुहोस् त, बाल्यकालमा भोक लाग्दा तपाईं बेस्सरी रुनुहुन्थ्यो । बाल्यकालमा आमाको काखमा लुटपुटिन नपाउँदा वेपत्तासँग रुनुहुन्थ्यो । बाल्यकालमा बुवालाई हट घोडा हट भन्न नपाउँदा रुनुहुन्थ्यो ।
यसरी बेस्सरी रोइदिँदा तपाईंको मन हल्का हुन्थ्यो । मन चंगा हुन्थ्यो । र, तुरुन्तै तपाईं फुरुंग हुनुहुन्थ्यो ।
तर, जति(जति उमेर बढ्दै जान्छ हामी आफ्नो वेदनालाई भित्रभित्रै दबाउन थाल्छौं । रुन मन लागे पनि रुन असहज मान्छौं । पीडा, दुःख मनभित्र गाँठो पर्न थाल्छ । मनभित्रको यो बेचैनी हाम्रो अनुहारमा छचल्किन्छ । शरीरका अरु अवयवमा छचल्किन्छ । हामी कुण्ठित हुनपुग्छौं । आफैभित्र दबाईको पीडाले हामीलाई मानसिक रोगी बनाइदिन्छ । उदास र उराठ बनाइदिन्छ ।
त्यसैले त भन्न थालिएको छ, मनको पीडालाई गाँठो नबनाउनुहोस् । रुनुहोस् । निर्धक्क रुनुहोस् ।
हुन त हामी अहिले सबैलाई हास्न प्रेरित गरिरहेका छौं । उन्मुक्त हास्नुहोस्, मनको तनाव भगाउनुहोस् भनिरहेका छौं । हास्नुलाई प्राकृतिक ओखती मानिरहेका छौं । हाँस्नु पनि एक मानविय अभिव्यक्ति हो । प्राकृतिक क्रिया हो । जब हामी उन्मुक्त हास्छौं, शरीरका समग्र अवयवमा खुसी सञ्चार हुन्छ । मन फुरुङ्ग हुन्छ ।
तर, हाँस्दा मात्र होइन, रुनु पनि फाइदाजक छ । मनको वेदनालाई दबाउनुहुँदैन ।
जापानमा अहिले तनाव भगाउनका लागि रुन प्रेरित गरिने रहेछ । घतलाग्दो त के भने त्यहाँ कतिपय कम्पनी एवं विद्यालयले आफ्ना कर्मचारी र विद्यार्थीलाई हप्तामा एक दिन जमेर रुनका लागि प्रोत्साहित गरिरहेका छन् ।
विश्वमा जापानीलाई एकदमै मेहनती मानिन्छ । त्यहाँका मानिसहरु कामबाट निकै कम मात्रामा फुर्सद लिन्छन् । धेरैजसो समयमा काममा नै बिताइरहेका हुन्छन् । यसरी कर्मशील हुनु आफैंमा राम्रो हो । त्यसले उनीहरुलाई मात्र होइन, राज्यलाई पनि समृद्ध बनाएको छ ।
तर, यसरी रातदिन काममा घोटिइरहँदा त्यसको साइट इफेक्ट पनि देखिन थालिएको छ । कामकै कारण उनीहरुमा तनाव बढेको पाइन्छ ।
यस्तो पृष्ठभूमिमा जापान सरकारले आफ्ना नागरिकलाई तनावमुक्त गराउन नयाँ काइदा अपनाएको छ । उक्त काइदा के भने, नागरिकहरु तनाव भगाउन हाँस्न होइन, बरु रुन थालेका छन् ।
कतिसम्म भने रुनका लागि प्रोत्साहित गर्न त्यहाँ टियर्स टिचर्स तयार गर्न थालिएको छ ।
रुनुको फाइदामाथि शोध
जापानको एक हाइस्कुलका शिक्षक हिदेफुमी योशिदाले पाँच(५ बर्षदेखि रुनुको फाइदामाथि शोध एवं प्रयोग गरेका छन् । उनको प्रयासको फलस्वरुप त्यहाँ उनलाई टीयर्स टिचर्सको रुपमा चिन्न थालिएको छ । योशिदालाई जापानी कम्पनी एवं विद्यालयमा उच्च माग हुन थालेको छ । उनले विद्यालय एवं कम्पनीमा पुगेर रुनुको फाइदा बताइरहेका छन् ।
जापान सरकारको पहल
योशिदाले रोएर तनाव भगाउने जुन प्रयोग गरेका छन्, त्यसमाथि तोहो विश्वविद्यालयका मेडिसिन फ्याकल्टी प्रमूख प्रोफेसर हिदेहो अरिटाले पनि सोध गरेका छन् । यी दुबैको प्रयोग र अध्ययनबाट सावित भएको छ कि, हास्नु र सुत्नुको तुलनामा रुँदा चाडै तनाव हट्छ । हप्तमा एक पटक रुँदा तनावमुक्त जीवन पाउन सकिन्छ ।
उनीहरुको सोधबाट प्राप्त नतिजालाई देखेर जापान सरकारले सन् २०१५ मा ५० भन्दा बढी कर्मचारी भएको कम्पनीका लागि तनावमुक्त हुनका लागि अनिवार्य रुपमा त्यस किसिमको अभ्यास गर्नुपर्ने बताएको छ ।
मनोचिकित्सक पनि रुन सल्लाह दिन्छन्
रुँदा तनाव कम हुने सम्बन्धलाई लिएर १६ बर्षअघि ३० देशमा एक सर्वे भएको थियो । यस सर्वेमा सहभागी ६० प्रतिशत बढीले मानेका थिए कि, तनाव हटाउनका लागि रुनु एक उपयोगी विधी हो । त्यसैगरी विश्वका ७० प्रतिसत मनोचिकित्सकले तनावसँग जुधिरहेका मानिसलाई रुनका लागि सल्लाह दिएका छन् ।
त्यसैले तपाई पनि धक फुकाएर एकचोटि रुने पो हो कि ?