प्रदेश ३ को राजधानीबारे यसो भने माधव नेपालले

गुगलपाटी संवाददाता हेटौंडा
२७ माघ २०७५ ०८:१०

३ नम्बर प्रदेशका स्थायी राजधानीबारे नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मौन रहने बताएका छन् । न्युज क्लव नेपालले हेटौैंडामा आज गरेको पत्रकार भेटघाटामा उनले यसबारे आफुले नबोल्ने बताएका हुन् ।

‘यो कि त सहमतिमा जानुपर्छ, नभए बिधि प्रक्रियामा जानुपर्छ’,उनले भने,‘मैले यस बारेमा यसो हो भनेर बोल्नु मिल्दैन ।’ साथै उहाँले काभ्रे जाँदा एउटा कुरा र हेटौंडा आउँदा अर्को कुरा गर्ने आफ्नो बानी नरहेको भन्दै उहाँले राजधानी टुङ्गो लगाउने विषय प्रदेशसभाको अधिकार भएको बताए । तर छिट्र्टै राजधानीको विषय टुङ्गो लगाउनुपर्नेमा भने उनको जोड छ ।

नेता नेपालले नेपाली कांग्रेसलाई फ्रस्टेसन भएको दाबी गरे । लामो समय सत्तामा बसेको पार्टी अहिले बाहिर हुँदा फ्रष्टेशन भएको भन्दै उनले कुनै एजेण्डा बिना हाल गरिएको आन्दोलनको कुनै तुक नरहेको बताए । साथै सरकारको कामप्रति पनि सचिवालयस्तरमा गम्भिर छलफल हुने जानकारी दिए ।