बाबुराम प्रधानमन्त्री हुँदा रात बिताएको घर होम स्टे मा परिणत हुँदै

गुगलपाटी संवाददाता  हेटौंडा
२७ माघ २०७५ १२:०४

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं.४ टुवाङ्ग्रास्थित सानो सोमलाल बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ ।

सोही बनकरियाको घरलाई होम स्टे बनाउने गरी काम सुरु गरिएको अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार, चालु आर्थिक बर्षमा बनकरिया बस्तीमा होम स्टे लगायतको काम गर्ने गरी ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

सोही रकमबाट सो घरलाई होम स्टेमा रुपान्तरण गरी पर्यटक प्रर्वदनमा सहयोग पुर्याउने योजना गाउँपालिकाको रहेको जनाएको छ ।

होम स्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होम स्टे व्यवस्थापन समिति गठन गरिएको छ । उपसंयोजक सन्तमाया बनकरिया रहेको सो समितिमा सदस्यहरु सुन्तली, कान्छिमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुब खड्का संरक्षक रहेका छन् ।

आज आइतबार होम स्टे निर्माण सम्बन्धमा सरोकारवालासँग छलफल कार्यक्रम समेत आयोजना गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडा अध्यक्ष ध्रुब खड्का, समाजसेवी रामहरि बिष्टलगायतको उवस्थिती रहेको थियो ।

निर्माण गरिएको समितिले तत्काल चित्लाङ होम स्टेको भ्रमण गराइने योजना समेत बनाइएको छ ।

भट्टराई प्रधानमन्त्री हुँदा २०६९ साल माघ २६ गते तत्कालिन हाँडीखोला गाविसको वडा नं. ७ ट्वाङ्ग्रामा उनको घरमा बसेका थिए ।