६ महिनामै ६७६ भ्रष्टाचारका उजुरी

गुगलपाटी संवाददाता
२९ माघ २०७५ ००:२३

हेटौंडा–चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा ६७६ वटा उजुरीहरु परेको बताइएको छ ।

अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाकी प्रमुख होमकला पाण्डेका अनुसार अख्तियारले अहिले चालु आर्थिक वर्षमा परेको ३४७ उजुरीहरुको छानविन गरिरहेको छ । ३२९ वटा उजुरीको फैसला गरिसकिएको छ । अख्तियार हेटौंडाले ६३ वटा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ भने ११ वटा स्टिङ अपरेशन गरी १५ जनालाई पक्राउ गरेको छ । सबै मुद्दाहरु विशेष अदालतमा दर्ता भइसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढी परेको उनले बताइन् । सेवा प्रवाह, विकास निर्माण, सडक, अनुचित कार्यहरु, सार्वजनिक सम्पत्तिको हानीलगायतको विषयमा धेरै उजुरीहरु आएको भन्दै उनले भ्रष्टाचारको तरिकाहरुमा परिवर्तन भएको बताइन् ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध नागरिक निगरानी समूह गठन गर्ने तयारी गरेको छ । दुई वटा जिल्लामा गठन गर्ने गरी निर्देशन प्राप्त भएको भन्दै पाण्डेले कार्यविधिसमेत आइसकेको बताइन् ।

सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिको प्रमुखको सहकार्यमा विभिन्न संस्थाका पदाधिकारीहरु सम्मिलित नागरिक समूह गठन गरिने उनले बताइन् ।