पाँच बर्षमा बिकासले फड्को मार्छः मुख्यमंत्री पौडेल
गुगलपाटी संवाददाता हेटौडा, चैत्र २४ ।प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अबको ५ बर्षमा ३ नम्बर प्रदेशले विकासमा फड्को मार्ने उदघोष गरेका छन् । आज हेटौंडामा मारवाडी एशोसियसनको २३ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले प्रदेशका लागि नीति नियम र कानून नबनेका कारण आफूहरुलाई केही कठीनाई भएको जीकिर गरेका छन् । सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मकवानपुरको सुरुङ्गमार्ग, सिटीइभीटीको प्रशिक्षण भवन, हेटौंडा बजार क्षेत्रमा महेन्द्र राजमार्गको दायाँबायाँ विस्तार, निर्माणाधीन कान्ति लोकमार्ग निर्माण छिटो सम्पन्न गर्नु, मुख्य राजधानी काठमाडौं लगायत ३ नम्बर प्रदेशका अन्य जिल्लाबाट प्रदेश राजधानी हेटौंडा सम्म आउन हाल सञ्चालनमा रहेका करीब आधा दर्जन सडक सञ्जाललाई व्यवस्थित गर्नु पनि आफ्नो प्राथकितामा रहेकोले यसका लागि आफूलाई सबैले साथ दिन आग्रह पनि गरेका छन् । एशोसियसनका अध्यक्ष कृष्ण कुमार अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य भएका सभासद, सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।