प्रधानमन्त्री ओलीको भारत भ्रमणमा १२ बुँदे संयुक्त वक्तव्य जारी

गुगलपाटी संवाददाता नयाँदिल्ली
२४ चैत्र २०७४ ११:४२

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा शनिबार दुई देशको १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

शनिबार दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि संयुक्त वक्तव्य जारी गरिएको हो ।

दुई प्रधानमन्त्रीहरु दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न उच्चस्तरीय राजनीतिक छलफललाई निरन्तरता दिन पनि सहमत भएका छन् । संयुक्त वक्तव्यमा दुबै प्रधानमन्त्री नेपाल र भारतबीचको संयुक्त आयोजनाको कार्यान्वयनलाई तिब्रता दिन सहमत भएको विषय उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । त्यस्तै वीरगञ्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गरिएको छ ।

ओलीको भारत भ्रमणका क्रममा ३ फरक विषयमा पनि सहमति भएको छ । जसमा कृषि, रक्सौल काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारतबीच जलमार्ग विस्तार पनि रहेका छन् ।