नेता बानियाँद्वारा स्वस्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

गुगलपाटी संवाददाता हेटौंडा
१ फाल्गुन २०७५ १०:२१

काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँद्वारा राईगाउँ स्वास्थ्यचौकीलाई बुधबार एम्बुलेन्स र सुरुमा संचालनको लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका छन् । उनी काँग्रेस मकवानपुरका सभापति पनि हुन् ।

बाग्मती गाउँपालिका वडा नं.२ राईगाउँका वडा अध्यक्ष एवं राईगाउँ स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर भ्लोनको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेता बानियाँले स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा राईगाउँ स्वास्थ्यचौकीलाई एम्बुलेन्स र सुरुको अवस्थामा एम्बुलेन्स संचालन गर्न ५० हजार रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता बानियाँले मानवताको धर्म नै सेवा हो र त्यसैको फलस्वरुप आफूले स्वास्थ्यसेवामा सकेको सहयोग गर्दै आईरहेको अवस्थामा राईगाउँ स्वास्थ्यचौकीलाई स्वर्गीय पिताको स्मृतिमा एम्बुलेन्स र सुरुको अवस्थामा एम्बुलेन्स संचालनको लागि ५० हजारसमेत जम्मा गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँले एम्बुलेन्स दिएर उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिएकी छिन् ।
नेतृ डिनाले कम्युनिष्टहरुले पटक–पटक जित हासिल गर्दापनि फर्केर नहेर्ने र अर्को क्षेत्रमा जितेर पनि यो क्षेत्रमा आएर सहयोग गर्ने मन भनेको कांग्रेसको मात्रै रहेको बताईन् ।

यसअघि नेता बानियाँले स्वर्गीय दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स वितरण गरेका थिए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य शेरबहादुर तामाङ्ग, चोकबहादुर ठाडामगर, महासमिति सदस्य दिनेश उपाध्याय, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिकाका प्रमुख दामोदर खनाल, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, महाधिवेशन प्रतिनिधि ईश्वर पण्डित, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस बाग्मती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिना, समाजसेवी लक्ष्मण सुवेदी, ज्ञानेन्द्र बर्तौलालगायत जनप्रतिनिधि एवं स्थानीयको उपस्थिति रहेको थियोे ।