बोलपत्र रद्ध गराईपाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी,विवादको कारण बोलपत्रको फारम च्यातियो

गुगलपाटी संवाददाता हेटौंडा
२ फाल्गुन २०७५ ०५:४६

मकवानपुरको बकैया गाउँपालिकामा बोलपत्र बुझाउने कामबाट आफुहरुलाई बञ्चित गरिएको भन्दै केही निर्माण कम्पनीहरुले आज जिल्ला प्रशासन कार्यालय मकवानपुरका गुनासो सहितको उजुरी दिएका छन् । उनीहरुले बोलपत्र रद्ध गराईपाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

बोलपत्र बुझाउने समय सकियोभन्दै बकैया गाउँपालिकाका स्थानिय ठेकेदारहरुले हेटौंडाबाट गएका ठेकेदार कम्पनीहरुको फारम च्यातिदिएको भन्दै हेटौंडाका ठेकेदार कम्पनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । हेटौंडाबाट गएका शक्ति निर्माण कम्पनी, आरबी बिल्डर्स र थापा बिल्डर्स कम्पनीको फारम त्यहाँका स्थानिय ठेकेदारहरुले प्रहरीकै अगाडी च्यातिदिएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।

आवश्यक प्रक्रिया सहित कार्यालय समयभित्रै पुग्दा पनि त्यहाँका स्थानिय ठेकेदारहरुले आफुहरुलाई समय सकियो भन्दै रोकेको थापा विल्डर्सका प्रतिनिधिले गुनासो गर्दै भने ।

तर त्यहाँका स्थानिय ठेकेदारकम्पनीहरुले भने सोही समयमा फारम दर्ता गराएको उनीहरुको भनाई छ ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाललाई जिज्ञासा राख्दा उनले आफु बाहिर भएकोले यस विषयमा धेरै जानकारी नभएको बताए ।
गाउँपालिकाले वडा कार्यालयको भवन निर्माणका लागि केहिदिन अघि टेन्डर खुलाएको थियो । जसमा फारमभर्न थुप्रै निर्माण कम्पनीहरु गाउँपालिका पुगेका थिए ।