संचारकर्मी ढकालको हत्या आरोपित २ युवक पुर्पक्षका लागि थुनामा

गुगलपाटी संवाददाता हेटौंडा
३ फाल्गुन २०७५ ०७:४५

संचारकर्मी मनोहर ढकालको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले २ युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको बिहीबार बसेको इजलाशले हेटौंडा–११ नवलपुरका ४२ वर्षीय संचारकर्मी ढकालको हत्या गरेको आरोपमा हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रविण वाईबालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनालाई अदालतले धरौटी लिई तारेखमा छाड्ने आदेश गरेको छ ।

संचारकर्मी ढकालको गत पुस २५ गते हेटौंडा–१ भैरवडाँडामा हत्या गरिएको थियो । ढकालको हत्या गरेर सुनको औठी, पैसा, मोवाईल र हार्डडिक्ससमेत पुडासैनी र वाईबाले लुटेर फरार पुडासैनी र वाईबालाई प्रहरीले माघ ४ गते हेटौंडाबाट पक्राउ गरेको थियो ।

हत्या गरेर लुटेको औंठी र मोवाइल खरिद गर्ने भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापा र हेटौंडा–२ का ४८ वर्षीय नारायणबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको थियो । थापा र सुनारलाई मोवाईल र औठी विक्री गर्न सहयोग गर्ने थप २ जना पनि पक्राउ परेका थिए । अदालतले चार जनासँग जनही ३५ हजार रुपैयाँ धरौटी लिई तारेखमा छाडेको छ ।