भ्रष्टाचारी विकास विरोधी हुन् :- सञ्चारमन्त्री बाँस्कोटा
गुगलपाटी संवाददाता काठमाडौंसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् ।
बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न ।’
उनले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताए ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट पारे । अर्को प्रसङ्गमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र संघीयता कार्यान्वयनसँगै अर्को वर्ष उद्घाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना शुरु भइसकेको जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाई, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका बाचा पूरा गर्न जनताको मालिक भएर हैन, सेवक भएर काम गर्ने स्पष्ट पारे ।