मकवानपुरको विकट घैराङ सडक सञ्जालले जोडियो

गुगलपाटी संवाददाता
४ फाल्गुन २०७५ ०२:३९

मकवानपुरको भीमफेदी १ किसेडी, देउरालीदेखि ९ नम्बर वडा स्यार्से हुँदै कैलाश ९ घैराङ्ग जोड्ने सडकको शुक्रबार उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले विकास निर्माण कार्यमा कम्युनिष्टले कहिल्यै ध्यान नदिएको बताउँदै कांग्रेसले जित्दा विकासनिर्माणमा आमूल परिवर्तन गर्ने बताइन् । अहिले कांग्रेस सरकारमा नहुँदामा पनि यो क्षेत्रमा लाखौ रकम खर्चिएर काम गरिरहेको बताउँदै कम्युनिष्टहरु काम भन्दा बढी आश्वासन मात्रै दिने गरेको बताइन् ।

त्यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेस ३ प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले आफूले जितेपछि गाउँ गाउँमा विकास निर्माणमा लाग्नेक्रममा भीमफेदी १ किसेडीदेखि स्यार्से हुँदै घैराङ्गसम्मको ६ किलोमिटर सडकमा आफूले मेशिन निशुल्क सहयोग गरेको बताए । स्थानीय निकायदेखि केन्द्रसम्म कम्युनिष्ट सरकारको दुईतिहाई हुँदापनि थोरै रकमसमेत सहयोग गर्न नसकेको बताउँदै आफूले अहिलेसम्म व्यक्तिगत १५ लाखभन्दा बढी रकम बराबरको मेसिन सहयोग गरेको बताए ।

५ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न भैसकेको सो सडक घैराङ्गसम्म पुग्न अझै २ किलोमिटर निर्माण कार्य भैरहेको छ । सुरुमा सडक निर्माणमा कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले १ लाख, नेता बानियाँले १५ लाख बराबर रकमको मेशिन सहयोग, भीमफेदी गाउँपालिकाबाट ४ लाख र कैलाश गाउँपालिकाबाट १० लाख रकम बराबरको तेल सहयोग गरेर बाटो निर्माण कार्य भैरहेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, भीमफेदी १ का वडा अध्यक्ष श्यामबहादुर बल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, बाटो निर्माण समितिका अध्यक्ष नारायण सिं गोले, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, विद्यार्थी नेता मिलन पुडासैनी, क्षेत्रीय सदस्य मानबहादुर वाईबा, कैलाश ९ का वडा सभापति भुवन सिं घलान, तरुण दल साविक नामटार अध्यक्ष मोहनसिं वाईबा, गोपी बललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि डिना र विशिष्ट अतिथि बानियाँलाई सडक निर्माणमा विशेष सहयोग गरिएकोमा सम्मानसमेत गरिएको थियोे ।