माननीयको पोसाक, महिलालाई कोट, पुरुषलाई टोपी

गुगलपाटी संवाददाता सुर्खेत
२६ चैत्र २०७४ ०७:२०

अब सांसादहरुले आफुले मन परेको कपडा लगाएर प्रदेशसभा बैठकमा सहभागि हुन नपाउने भएको छ । संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको हो ।
संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरिएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए । उनका अनुसार अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ । संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ । यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ ।
यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो। यसअनुसार समितिले आइतबार सांसदको पोसाकबारे टुंगो लगाएको हो । महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ । यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको छ।
पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ । यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ। समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ । कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जानकारी दिएको छ। कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका सांसद धर्मराज रेग्मीले सबै सांसदका लागि कोट तोकेको बताउँदै पुरुष सांसदका लागि भने टोपी अनिवार्य ब्यवस्था गरिएको बताए । महिलाका लागि सारी र धोती तथा चोलोमा विकल्प छ । उनका अनुसार पुरुषले पनि दौरासुरुवाल र पाइन्ट विकल्पमा प्रयोग गर्न सक्नेछन् ।
गत माघ २१ गते प्रदेश संसद्को पहिलो बैठक बसेको थियो । आज सोमबार संसद्को दसौं बैठक बस्दै छ । सोमबारको बैठकबाट चारवटा संसदीय समिति गठन हुनेछन् । संसद् नियमावलीअनुसार संसद्मा विधायन तथा प्रदेश मामिला, सामाजिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन हुनेछन् । संसद बैठक सोमबार दिउँसो १ बजेका लागि डाकिएको छ ।