‘बुलबुल’लाई स्वष्तिमाले आफ्नो स्वार्थका कारण ‘ओके’ भनेकी हुन रे!

गुगलपाटी संवाददाता काठमांडौं
६ फाल्गुन २०७५ ०८:१४

निर्देशक  विनोद पौडेल आफ्नो डेब्यू सिनेमा ‘बुलबुल’लाई मेटाफोरिकल भनेर व्याख्या गर्न रूचाउँछन्।

‘यो एकदमै मेटाफोरिकल नाम हो। दोश्रो तहमा बुलबुल भेटिन्छ, पहिलो तहमा भेटिँदैन। यसले एउटा पात्रको भावनात्मक यात्रालाई जोडेर देखाउँछ।’

पौडेलको भनाइमा स्वस्तिमाको पनि समान धारणा छ।

‘बुलबुल के हो सिनेमा हेरेपछि विशेषरूपमा थाहा हुन्छ। मेटाफोरिकल नाम हो यसको। कति दर्शकलाई यसको नाम किन ‘बुलबुल’ हो भन्ने पनि लाग्न सक्छ। यसको सिधा अर्थ देखिन्न। बुलबुल पानीको फोकाजस्तै हो। बन्छ फुट्छ। मान्छेका इच्छाहरू कस्ता हुन्छन्?  मान्छेका कति कुराहरू पानीका फोकाहरू जस्तै त हुन्छन्। यो पनि त्यस्तै हो।’

निर्देशक पौडेलले आफ्नो सिनेमामा एउटी विवाहित र पति परदेशिएको पत्नी अनि पक्षघातले पीडित ससुराको रेखदेख गर्ने बुहारी र एउटी सात वर्षे छोरीकी आमा ‘रणकला’को भित्री प्रेमको इच्छा र चाहानालाई प्रस्तुत गर्छ।

त्यसमा कसरी ऊ समाजले बनाइदिएको बन्धन र मनले खोज्ने बेग्लै बाटोको अन्तरद्वन्द्वमा बाँच्छे भनेर देखाउने सिनेमा हो।

भन्छन्, ‘यसको चरित्रले बोक्ने सर्वव्यापी कुरा भनेको मानवीय संवेदनाहरू हुन्। उसको सम्बन्धको भावनाको अनि मायाको खोजीमा हिडिँरहेको एउटा चरित्रको कुरा गर्छ। त्यो चरित्रले प्रेमलाई कसरी लिन्छ? समाजले उसको प्रेमलाई कसरी लिन्छ, हेर्छ भन्ने कुरा यसमा छ। समाजले प्रेमको एउटा परिभाषा बनाएको छ तर व्यक्तिगत मानिस त्यो पूर्व निर्धारित परिभाषामा आफूलाई भेट्दैन, त्यसमा आफूलाई पाउँदैन। यसबारेमा उसको मनको यात्रा एउटा हुन्छ तर बाहिरी सामाजिक यात्रा अर्को।’

रणनकला सिनेमाकी केन्द्रीय पात्र हुन्। निर्देशक पौडेल त्यसमा त्यो पात्रको जीवनयात्रामा हुने रूपान्तरणलाई पछ्याउन सक्ने छिर्नसक्ने अभिनेत्रीको खोजीमा थिए। उनले त्यसमा सँधै सिनेमाहरूमा चुलबुले पात्रमा देखिदैं आएकी स्वस्तिमाले अभिनय गर्नसक्ने देखें। उनले खोजेजस्तो फर्फेक्ट कास्ट।

‘मैले तटस्थ चरित्र खोजिरहेको थिएँ जसले रणकलाको जीवन यात्रा पर्दामा एउटा स्वभाविक रूपान्तरणका रूपमा देखाउन सकोस्। खोज्दै जाँदा अभिनेत्रीका रूपमा मैले स्वस्तिमालाई भेट्टाएँ। ऊ मैले चाहेजसरी रूपान्तरित हुन सक्ने थिइन्।’

निर्देशकको खोजीमा फिट बसेकी स्वस्तिमालई यो सिनेमा गर्न केले झक्झकायो त? यसमा उनको उत्तर सोचेभन्दा फरक तर इमानदार छ।

‘बुलबुल’लाई उनले आफ्नो स्वार्थका कारण ‘ओके’ भनेकी हुन रे!

‘पहिलो त म सेल्फिस भएर हो। अभिनेत्रीका रूपमा हो त्यो। मैले फरक अभिनय देखाउन पाउँछु भनेर हो। हाम्रो जेनेरेसनको कलाकारलाई यस्तो भूमिका गर्न पाउनु एउटा सपना हो, कहिलेकाँहि आउने मौका। अर्को कुरा मलाई दर्शकका हिसाबले मनपर्ने सिनेमाको लहरमा यस्तो सिनेमा पर्छ। यदि मैले यो सिनेमा नगरेको भएँ पनि मेरो लिस्टमा यो मैले नछुटाउने सिनेमा हो।’, उनले भनिन्।

स्वस्तिमालाई चरित्रमा छिर्ने भनेको के हो थाहा छैन्। चरित्र निर्माणमा उनको प्रक्रियाको बारेमा हाम्रो कोशिशको प्रश्नमा उनले बताइन्।

‘म यो कुरा बुझ्दै बुझ्दिनँ। म पढेर आएको होइन। मैले विनोद दाइलाई हेर्नुस् यसमा छिर्ने भनेको के हो थाहा भएन। तर यसलाई पढेर के गर्ने हो त्यो अनुसार गर्छु भनेको थिएँ। पात्रमा छिर्ने भन्दा पनि पात्रलाई मैभित्र प्रवेश गराएँ। मैले जानेको यही हो। दाइले बनाएर दिनुभएको चरित्र भएकाले मलाई सजिलो भयो। यसमा मैले अलिअलि थपथाप बाहेक केही गरिनँ।’

सिनेमाका लागि छान्दा स्वस्तिमाले विनोदलाई सोधिन्, ‘दाइ मलाई नै किन?’

‘उसलाई चारित्रिक हिसाबले तटस्थ बनाउन सजिलो भयो। मेरो रोडम्याप अनुसार उनी भइदिइन्। यसले मलाई सजिलो पार्‍यो। कलाकारको रूपमा उनको मेहेनतले यसलाई थप बलियो पार्‍यो’, स्वस्तिमाको कामले दंग बिनोदले भने।

यही सिनेमाको कारण स्वस्तिमाले कुनै सिनेमा साइन गरिनन्। उनले सिनेमामै फोकस हुन पाइयोस् भनेर यस्तो गरेकी थिइन्। यसका लागि निर्देशक पौडेल स्वस्तिमासँग आभारी छन्।

‘यो सिनेमालाई उसले राम्रो समय दियो। सुटिङभरि उनी रणकला नै बनिरहिन्। उसले कपाल, मेकअप नगर्ने, फिजियोलाई पात्र अनुसार मेनटेन गरिरहिन्। यस्तो मेहेनत गर्ने कलाकार पाएपछि निर्देशकलाई के चाहियो? सुनमा सुगन्ध भयो नि’, विनोद थप्छन्। स्रोतःसेतोपाटी