हेटौंडाबासी अन्यौलमा, सार्वजनिक सडक ऐन २०३१ अनुसार २५ मिटरनै भत्काउनुपर्ने

गुगलपाटी संवाददाता हेटौंडा
६ फाल्गुन २०७५ १०:११

सडक विस्तारको विषय लामो समयदेखि चर्चामा छ । ३ नम्बर प्रदेश सरकारले हेटौंडाको मुख्य बजारक्षेत्रमा पर्ने राजमार्गमा १६–१६ मिटर मात्रै सडक विस्तार गर्ने निर्णय गरेपनि २५ मिटरनै सडक विस्तार हुने संभावना रहेको सरोकारवालाहरु बताउँछन् ।
प्रदेश सरकारको निर्णय १६ मिटर विस्तार गर्ने भएपनि सार्वजनिक सडक ऐन २०३१ अनुसार २५ मिटरनै भत्काउनुपर्ने भएकोले यस विषयमा हेटौंडावासी थप अन्यौलमा छन् ।

आईतबार बसेको प्रदेश सरकारको मन्त्री परिषदको बैठकले पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत पर्ने हेटौंडा बजार क्षेत्रको सडक १६–१६ मिटर विस्तार गरी चार लेनको बाटो बनाउने निर्णय गरेपनि केही सरोकारवाला निकायहरु यस विषयमा फरक धारणा व्यक्त गरिरहेका छन् ।

सार्वजनिक सडक ऐन २०३१ मा उक्त राजमार्ग २५ मिटरनै विस्तार गर्नुपर्ने प्रश्ट उल्लेख गरिएको छ ।
डिभिजन सडक कार्यालय मकवानपुरका सुचना अधिकारी जयराम अधिकारीले आफुहरुले अहिले दिने जानकारी भनेको २५ मिटरनै रहेको बताए ।
अहिले केन्द्रिय सरकारले निर्णय गरेको छैन । यदी निर्णय गर्नैपरेपनि सडक ऐन संसदमा पेस गरेर १६ मिटर कायम गर्नुपर्ने गरी परिमार्जन गर्नुपर्ने उनी बताउँछन् ।
यद्यपी केन्द्रिय सरकारको निर्णय यहि विषयमा भएर निर्देशन आएको खण्डमा भने १६ मिटरनै सडक विस्तार हुनसक्ने पनि उनी बताउँछन् ।
तर कहिँ १६ कहिँ २५ मिटर विस्तार गर्ने निर्णय सरकारले नगर्न सक्ने संभावना रहेको उनको भनाई छ ।
केही समयअघि २५ मिटर क्षेत्रभित्र पर्ने केही सरकारी भवन तथा केही निजि आवासहरु समेत भत्काईसकिएको छ ।