सपना देख्दा दिमागमा के हुन्छ ? के हो निन्द्रा ?
गुगलपाटी संवाददाता काठमाडौंनिन्द्राले गर्ने काम धेरै पहिलेदेखि नै वैज्ञानिकहरूका लागि रहस्यको विषय रहँदै आएको थियो । तर कैयौँ आधुनिक अनुसन्धानहरूले निन्द्राले दिमाग र शरीरलाई गर्ने फाइदाबारे नयाँ नयाँ जानकारी बाहिर ल्याएका छन् ।
यी अनुसन्धानहरूले निन्द्राले शरीरका कोषहरूलाई पुनर्ताजगी गराउँछ र दिमागको विकारलाई हटाउँछ भन्ने देखाएको छ । साथमा हाम्रो सिकाइ तथा स्मरणमा पनि यसको सकारात्मक प्रभाव हुने गर्छ । यसको अतिरिक्त निन्द्राले मुड, भोजनको रुचि र यौन चाहनालाई पनि व्यवस्थापन गर्न सहयोग गर्छ ।
निन्द्रा हाम्रो जीवनको अभिन्न हिस्सा हो । दैनिक जीवनमा यसलाई हामीले सामान्य ठाने पनि अध्ययनले निन्द्राको समयमा हाम्रो दिमाग अत्यन्त जटिल प्रक्रियाबाट गुज्रने देखाएको छ ।
हामी सुतेपछि दिमागले दुई फरक प्रकारको निन्द्रा सिर्जना गर्छ भन्ने अध्ययनले देखाएको छ । यसमध्ये एउटा स्लो–वेभ स्लिप (एसडब्लूएस) हो । यसलाई गहिरो निन्द्रा पनि भनिन्छ । अर्को हो र्यापिङ्आई मुभमेन्ट (आरईएम) । यो चरणमा सपना देखिने भएकाले यसलाई सपना देखिने निन्द्रा भनिन्छ ।
हाम्रो निन्द्राको अधिकांश हिस्सा एसडब्लूएस प्रकारको हुन्छ । यो अवधिमा दिमागमा साना तरङ्ग मापन भएको छ, जो सुस्त हुन्छन् । साथमा यो बेला मांसपेसी शिथिल हुन्छ र स्वासप्रस्वास भने सुस्त र गहिरो हुने गर्छ । यसले शरीर र दिमागलाई दिनभरीको थकान पछाडि आरामको अवस्थामा पुर्याउन सहयोग गर्छ ।
आम रूपमा रहेको बुझाइ जस्तो निदाएपछि दिमागले काम गर्न छाड्दैन । बरु यो अवधि दिमाग एकपछि अर्को चरण हुँदै काम गरिरहेको हुन्छ । प्राविधिक रूपमा यसको सुरुवात दिमागको त्यो हिस्साबाट सुरु हुन्छ जहाँ एसडब्लूएस निर्माण हुन्छ ।
वैज्ञानिकहरूले अहिले दुई समूहको कोषहरूले एसडब्लूएसलाई सहयोग गर्ने ठोस प्रमाणहरू पाएका छन् । ती कोषहरूमा हाइपोथलामसमा रहेको ‘भेन्ट्रेलेटरल प्रिओपप्टिक न्युक्लाई’ र ‘प्याराफेसियल क्षेत्र’मा रहेको ब्रेन स्टेम हुन् ।
यी कोषहरू जब सक्रिय हुन्छन् तब हाम्रो होस हराउँछ ।
एसडब्लुएसपछि आरईएम निन्द्राको चरण सुरु हुन्छ । यो चरण अनौठो हुन्छ । यो अवधिमा दिमाग अत्यन्त सक्रिय हुन्छ भने शरीरको मांसपेसीमा भने पक्षघात हुन्छ । स्वासप्रस्वास र मुटुको दर अस्थिर हुन्छ । आरईएमको बायोकेमिस्ट्री र न्युरोबायोलोजी बारे बुझाइ बढिरहेको भए पनि यसको उद्देश्य अहिलेसम्म जैविक रहस्य रहेको छ ।
ब्रेन स्टेमको सानो कोषको समूह ‘सब्कोएरुलस न्युक्लियस’ले आरईएम निन्द्रालाई नियमन गर्छ भनेर हामीलाई थाहा भइसकेको छ । यी कोषहरूमा जब चोट लाग्छ वा यिनमा रोग लाग्छ मानिसहरूले आरईएम निन्द्राको समयमा हुने मांसपेशी पक्षघात अनुभव गर्दैनन् । यसले गर्दा उक्त व्यक्तिले सपनाको बेला सपनामा भएका कुराहरूलाई साँच्चिक्कै हाउभाउ गर्ने समस्या उत्पन्न हुन्छ ।
निन्द्राका चरणहरूको अवधि
निन्द्राका विभिन्न चरणहरू सन् १९५० को दशकमा ईईजीको प्रयोगबाट मानव मस्तिष्कमा गरिएको प्रयोगमार्फत आविष्कार भएको हो । यस क्रममा अनुसन्धाताहरूले आँखा र हातखुट्टाको हलचललाई पनि मापन गरेका थिए ।
यो प्रयोगबाट निक्कै महत्त्वपूर्ण परिणामा निस्किएको छ ।
अनुसन्धाताहरूले प्रत्येक रात सुतिसकेपछि पहिलो एक घण्टा दिमाग ‘सर्ट वेभ स्लिप’को चरणमा रहने पाए । यो अवधिमा मानिसलाई घच्घच्याएर उठाएमा मानिसहरूले सोचको केही टुक्राटाक्री मात्र सम्झन सकेका थिए ।
त्यसको अर्को आधा घण्टा, दिमागको क्रियाहरू नाटकीय रूपले परिवर्तन भयो । यो चरणमा अघिल्लो चरणको गहिरो ‘स्लो वेभ स्लिप’ आरईएम चरणमा बदलियो । यो अवधिमा ईईजीमा मापन गरिएको तरङ्ग मानिस जागेको बेला जत्तिक्कै थियो । दिमाग सक्रिय रहे पनि शरीर भने यो अवधिमा पक्षघातको अवस्थामा पुग्ने गर्छ ।
आरईएम निन्द्राको अवधिमा सपना देखिन्छ । पहिलो आरईएम १० देखि १५ मिनेट लामो हुनेगर्छ ।
रातभरी सर्ट वेभ र आरईएम निन्द्राको चक्र एकपछि अर्को आउने गर्छ । रात बढ्दै गर्दा सर्ट वेभ निन्द्रा कम गहिरो र आरईएम अवधि लम्बिँदै जान्छ ।
मानिसको जीवनकालमै पनि निन्द्राको अवधिमा निक्कै परिवर्तन देखिन्छ । शिशुहरू दिनमा १८ घण्टासम्म सुत्छन् । उनीहरूको निन्द्राको ठूलो भाग गहिरो ‘स्लो वेभ निन्द्रा’ले लिन्छ । बालबालिकाहरू हुर्कंदै जाँदा उनीहरूको निन्द्रा अवधि कम हुँदै जान्छ, साथमा उनीहरूको गहिरो ‘स्लो वेभ निन्द्रा’को समय पनि घट्छ । वयस्कहरू प्रत्येक रात ६ देखि ७ घण्टा सुत्छन् । उनीहरू ‘स्लो वेभ निन्द्रा’को अवधिमा एकदमै थोरै हुन्छ ।
सपना देख्दा दिमागमा के हुन्छ ?
आरईएम निन्द्राको समयमा हाम्रो दिमागले सपना वा दुःस्वप्न देख्ने गर्छ ।
सपनाको अवधिमा हाम्रो दिमागको समग्र भाग सक्रिय हुन्छ । यसमा ब्रेन स्टेमदेखि कोर्टेक्ससम्म संलग्न हुन्छ । अधिकांश सपना आरईएम निन्द्राको अवधिमा देखिन्छ ।
कोरटेक्सले सपनामा देखिने कथानक वा विषयको निर्धारण गर्छ । यसमा हामीलाई डर लाग्ने राक्षसदेखि हामीले भेट्ने मानिससम्म अथवा उडान भर्नेदेखि पौडी खेल्नेसम्म पर्छन् ।
मानिस दृश्यपक्ष एकदम बलियो भएको जीव भएकाले हाम्रो दिमागको ठ्याक्कै पछाडि रहेको कोर्टेक्सको पनि दृश्य व्यवस्थापन गर्ने हिस्सा सपनाको बेला विशेष सक्रिय हुन्छन् ।
यो अवधिमा सबैभन्दा कम सक्रिय हुने भनेको फ्रन्टल लोब हो । यहीको सुषुप्तताको कारणले निन्द्रामा हामी कुनै अवरोधबिना जस्तोसुकै घटना पनि वास्तविक जसरी स्वीकारिरहेका हुन्छौँ ।
हामीलाई निन्द्रा किन आवश्यक पर्छ ?
निन्द्रा हाम्रो लागि निक्कै उपयोगी कुरा हो । यसले हाम्रो दिमागदेखि शरीरलाई समेत विभिन्न फाइदा पु¥याइरहेका हुन्छन् । यसले मुख्य गरेर देहायका कुरामार्फत हामीलाई सहयोग गरिरहेको हुन्छ स्
१. निन्द्राले दिमागको सरसफाइ गर्छ
सन् २०१३ मा युनिभरसिटी अफ रोचेस्टर मेडिकल सेन्टरमा गरिएको एक अध्ययनमा निन्द्राको समयमा दिमागको विकार हटाउने प्रणाली सुचारु भएको पाइएको थियो । निन्द्रालाई दिमागले आफ्ना धेरै विषाक्त विकारहरू सफा गर्ने समयका रूपमा प्रयोग गर्ने गर्छ ।
स्लिप साइन्सका अनुसार निन्द्राको समयमा दिमागभरीबाट सेरेब्रल स्पाइनल फ्लुड अत्यन्त छिटो बाहिर निस्किएर सफाइको कार्य हुने गर्छ ।
२. निन्द्राको समयमा स्मरण बन्ने र बलियो हुने गर्छ
आँखा बन्द भएपछि दिमागले अल्पकालीन सूचना र हालसालैका घटनाहरूलाई दिमागको दीर्घकालीन स्मरण केन्द्रमा पुयाउने क्रिया सुरु गर्छ । यही कारणले सिकाइमा निन्द्राको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने गर्छ । यसले नयाँ सूचनालाई पछि सम्झनाका लागि सङ्ग्रह गरेर राख्छ ।
३. गाडी चलाउने, नृत्य र खेलकुदमा निपुणता विकासमा सहयोग
आरईएम निन्द्राको समयमा हाम्रो दिमागले हामीले गरेका भौतिक कार्यका आवश्यक सूचनालाई सङ्ग्रह गर्ने प्रक्रिया सुरु गर्छ । यो अवधिमा अत्यावश्यक क्रियाहरू टेम्पोरल लोबतर्फ अघि बढ्छन् । एक पटक टेम्पोरल लोबमा सूचनाहरू सङ्ग्रहित भइसकेपछि यी कार्य गर्नका लागि सचेत रूपमा दिमाग पनि लगाइरहुन पर्दैन । यो स्वचालित कार्यमा बदलिन्छ ।
४. ठूला निर्णय गर्नलाई सघाउँछ
करेन्ट बायोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले निन्द्राको बेला दिमागले जटिल विषयमा काम गर्ने देखाएको छ । यसले जागिसकेपछि तपाईंलाई निर्णय गर्न सघाउँछ ।
५. सिर्जनशीलता बढाउँन सहयोग
सन् २००७ मा छापिएको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको एक अध्ययनले निन्द्राको समयमा दिमागले गाँजेको हामीले फरक फरक ठानेका सूचनाहरूबीच रहेको सुदूर सम्बन्ध पनि पहिचान गर्न सक्ने देखाएको छ । तथ्याङ्कलाई नै हेर्ने हो भने पनि ३३ प्रतिशत मानिसले निन्द्राको एक झप्कीपछि सिर्जनात्मक सम्बन्ध बनाउन सक्ने सम्भावना पाइएको छ ।
६. शरीरको सन्तुलन र एकाग्रता वृद्धि गर्न पनि सघाउँछ
पर्याप्त निन्द्राले मानिसलाई जागेको समयको बेला आवश्यक सतर्कता वृद्धि गराउँछ । सवारी साधन चलाउने कार्यजस्तो सानो बेहोसीले पनि गम्भीर असर पर्ने कार्यमा निन्द्रा अपुगले गम्भीर दुर्घटना निम्ताएका थुप्रै उदाहरणहरू छन् । यसका साथै निन्द्राले शरीरको सन्तुलन कायम गर्न पनि सघाउँछ ।
७. निन्द्राले निरोगिता बढाउँछ
अल्जाइमर्स रोग जस्तो गम्भीर रोगसँग सम्बन्धित विकार जागेको समयमा दिमागमा जम्मा भइरहेको हुन्छ । निन्द्राको समयमा उत्सर्जित हुने सेरेब्रोस्पानल फ्लुडले यी विकारलाई पखाल्छ ।
यसका साथै निन्द्राका समय अन्य विभिन्न क्रियाले शरीरको रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउन सहयोग गर्छ । (एजेन्सी)