सामाजिक अभियानकर्ताको कार्य निरन्तरतामा जोड

गुगलपाटी संवाददाता
७ फाल्गुन २०७५ ००:०५

हेटौंडा–महिला तथा बालबालिकाहरुको अधिकारको पक्षमा वकालत गर्दै आइरहेका सामाजिक अभियानकर्ताहरुलाई स्थानीय तहमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ । उनीहरुको काम तथा भूमिकालाई स्थानीय तहमार्फत निरन्तरता दिन सके समाजमा महिलाको आर्थिक सामाजिक तथा राजनीतिक परिवर्तन गर्न सहज हुने बताइएको छ ।

महिलाको अधिकार तथा सशक्तीकरणमा काम गरिरहेको गैरसरकारी संस्था संकल्पले विगत ६ वर्षदेखि मकवानपुरको साविकका ६ वटा गाविसमा खटाएको महिला अभियानकर्तालाई स्थानीय तहमा हस्तान्तरणको लागि जनप्रतिनिधिहरुसँग छलफल गरिएको छ । संकल्पको सहयोगमा दलित महिला संघ मकवानपुरले सञ्चालन गर्दै आएको कार्यक्रमको समयावधि सकिएसँगै सामाजिक अभियानकर्तालाई स्थानीय तहमा हस्तान्तरणको लागि सोमबार हेटौंडामा गोष्ठीको आयोजना गरिएको थियो ।

मकवानपुरको साविकको बसामाडी, हटिया, पदमपोखरी, चुरियामाई, हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाविसमा ४५ जना सामाजिक अभियानकर्ता खटिएका थिए । उनीहरुले आफ्नो क्षेत्रमा भएका महिला हिांस न्युनीकरण, बाल बिवाह रोक्ने, मनोपरामर्श सेवा तथा जनवकालतको काम गर्दै आएका थिए । महिला सशक्तीकरणमा उनीहरुले ६ वर्षसम्म भूमिका खेलेका थिए ।

महिला अधिकारको लागि काम गरेका अभियानकर्तालाई परिचालन गर्ने विषयमा वडा अध्यक्षहरु पनि सकारात्मक देखिएका छन् । उनीहरुले गाउँ तथा नगरपालिकामा सामाजिक अभियानकर्ताको भूमिकालाई निरन्तरता दिनेबारे कुरा लैजाने प्रतिवद्धता जनाए ।

दलित महिला संघ मकवानपुरकी अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा दलित महिला संघकी केन्द्रीय अध्यक्ष, कला स्वर्णाकार, हेटौंडा–१ नम्बर अध्यक्ष सविन न्यौपाने, १५ नम्बर वडा अध्यक्ष महारत्न लामा, १६ नम्बर अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर अध्यक्ष भैरवा राई, १३ नम्बर अध्यक्ष मनोज वाइबा,, मकवानपुरगढी गाउँपालिका १ नम्बर वडा अध्यक्ष आइतसिं लो, २ नम्बर अध्यक्ष बखानसिं पाख्रिन, ३ नम्बर अध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडा अध्यक्ष रामप्रसाद तिमल्सिनालगायतकाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा दलित महिला जनप्रतिनिधि, सामाजिक अभियानकर्ता, पार्टीका भातृ संगठनका प्रतिनिधिलगायतकाको उपस्थिति रहेको थियो ।