प्रदेश ३ को राजधानी हेटौंडा निश्चित : मुख्यमन्त्री

गुगलपाटी संवाददाता हेटौंडा
७ फाल्गुन २०७५ ०९:३२

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानी हेटौंडा नै कायम हुने दाबी गरेका छन् । रेडियो थाहा सञ्चारको ११ औं वार्षिकोउत्सवमा आज हेटौंडामा बोल्दै उनले अब राजधानी हेटौंडामै कायम रहने निश्चित भएका बताएका हुन् ।

केही दिनभित्रमा नै स्थायी राजधानी टुङ्गो लाग्ने र त्यो हेटौंडा नै कायम हुने उनको भनाई छ । ‘राजधानी टिकाउनको लागि नै केही ढिलाई भएको हो,केही दिनमा नै राजधानीको विषय टुङ्गो लागेको समाचार आउछ’,उनले भने ।

मुख्य बजारमा चार लेनको सडक निर्माणको लागि प्रदेश सरकारले केन्द्र सरकारलाई सिफारिस गरिसकेको पौडेलले बताए ।

यहाँको सडक दायाँ बायाँ १६/१६ मिटर फराकिलो बनाउने बताउँदै उनले मुख्य राजमार्ग बजारबाट सञ्चालन नहुने भएकाले २५ मिटर फराकिलो सडक भने बैकल्पीक मार्गबाट निर्माण गरिनुपर्ने बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै वर्ष शिक्षा सम्मानबाट तारालाल श्रेष्ठलाई र मुर्तीकार लक्ष्मण भुजेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडियोका संरक्षक तथा सञ्चालक अजयराज सुमार्गी, अध्यक्ष अस्मिता सुमार्गी,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कट्वाल,उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल,नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।