फ्यानहरुको ‘दाजु भाउजु’ :स्वस्तिमा र निश्चल

गुगलपाटी संवाददाता काठमाडौं
७ फाल्गुन २०७५ १०:४७

नायिका स्वस्तिमा खड्कालाई बिहे फाप्यो भन्नेहरु धेरै छन् । करिअरले राम्ररी पिकअप नलिँदै उनले निर्देशक निश्चल बस्नेतसँग बिहे गरेकी थिइन् । बिहेपछि उनको अरिअरले राम्रै उडान भरिरहेको छ ।

यो जोडीलाई फ्यानहरुले ‘दाजु भाउजु’ पनि भन्ने गर्छन् । बाहिरबाट हेर्दा स्वस्तिमा र निश्चल फरक नेचरका देखिन्छन् । धेरैको अनुमान हुन्छ, स्वस्तिमा चुलबुली, अपरिपक्व, प्यारप्यार बोल्ने, अनि निश्चल गम्भीर, कम बोल्ने र परिपक्व । तर, कुराकानीका क्रममा स्वस्तिमाले दुबैको स्वभाव प्राय उस्तै भएको बताइन् । आफूहरुको दाम्पत्य जीवनको रमाइलो यात्राबारे उनी यसरी खुलिन् :

बाहिर अनुमान गरिएजस्तो निश्चल र मबीच खासै ‘एन्टी नेचर’ छैन । दुबै उस्तै-उस्तै छौं । धेरै कुरामा हाम्रो स्वभाव र बानी ब्यहोरा मिल्छ ।

राति अबरेसम्म बस्ने र बिहान घाम छिप्पिएपछि मात्र उठ्ने हाम्रो स्वभाव एउटै हो । एउटा घटना सुनाउँछु । त्यस रात हामी १२-१ बजेसम्म बस्यौं । विहान ब्यूँझदा त ११ बजिसकेछ । आत्तिँदै उठेर चिया पियौं । अनि, फेरि सुत्यौं । त्यसपछि उठ्दा ४ बजेको रहेछ । काम छैन वा फुर्सद छ भने हामी प्राय यसरी सुतेरै दिन बिताउँछौं ।

सामान्यतया हामी राति ११-१२ बजेअघि सुत्दैनौं । एकोहोरो काम गरेर फर्किएको बेला वा थाकेको बेला चाहि ९-१० बजेतिर सुत्छौं । तर, यस्तो क्षण हाम्रो लागि अलि दुर्लभ हो ।

अर्को हाम्रो मिल्ने नेचर भनेको, दुबैले घर वा कोठा जतिसुकै लथालिंग भए पनि चासो नराख्ने । हाम्रो कोठा व्यवस्थित, चिटिक्क वा सबै कुरा मिलेको हुँदैन । सबै भद्रगोल हुन्छ । कुनै कुरा मिलाएर राख्ने न मन हुन्छ, न फुर्सद । घरको कोठा जस्तोसुकै होस्, निश्चललाई त बालमतलब हुँदैन ।

लुगा वा कुनै सामान कोठामा अस्तव्यस्त छ भने त्यसलाई दुबैले टिप्ने, राख्ने, मिलाउने गर्दैनौं । महिना दिनसम्म त्यत्तिकै हुन्छ । ओछ्यान मिलाउन समेत झ्याउ लाग्छ । बिहान उठ्दा जुन हालतमा छ, राति सुत्नेबेलामा पनि त्यस्तै हुन्छ । कहिलेकाहीँ यसो पाहुना आउँदा चाहिँ हतारिँदै मिलाउँछु ।

निश्चल र मेरो मिल्ने तेस्रो बानी, एक-अर्कालाई फोन गर्दैनौं । अरुका बुढाबुढी दिनमा दश पटक फोनमा कुरा गरेको देखिन्छ । फोनमै कचकच परिरहेको हुन्छ । हामीबीच चाहिँ फोन नगरेको गुनासो एक-अर्कासँग हुन्छ । प्रायः म सुटिङमा भएको बेला ‘काममा होला वा डिस्टर्ब नगरौं’ भनेर निश्चलले फोन गर्दैन । मेरो सोचाइ पनि त्यस्तै हो, निश्चल स्कृप्ट वा कुनै काममा होला भन्ने लाग्छ । त्यसैले फोनमा कुरा गरिदैँन ।

४५ दिनसम्म भेट भएन

कहिलेकाहीँ त निश्चल र मेरो भेटघाट हुनै गाह्रो । म सुटिङमा हुन्छु, ऊ आफ्नै काममा । राति म घरमा पुग्दा उ सुतिसकेको हुन्छ । बिहान म उठ्दा उ कतै गइसकेको हुन्छ । घरमा पनि हाम्रो भेटघाट दुर्लभ जस्तो हुँदै गएको छ ।

मेरो सुटिङ भएको बेला निश्चलले फोन नगर्ने मात्र होइन, भेट्न पनि आउँदैन । अहिलेसम्म सुटिङ स्थलमा आएर मलाई कहिल्यै भेटेको छैन । यदि काम परेर आयो भने पनि अन्तै होटलमा भेट्छौं ।

केही समयअघि त डेढ महिना हाम्रो भेट नै भएन । ‘हजार जुनिसम्म’ फिल्मको लागि म सिक्किम गएकी थिएँ । सुटिङको दौरान ४५ दिन हामीबीच भेटघाट भएन । पछि बहिनीको विवाहको लागि निश्चल झापा आएको रहेछ । झापाबाट सिक्किम आयो र हाम्रो भेट भयो । सँगै काठमाडौं फर्कियौं ।

सुटिङको बेला भेट नभए पनि एकअर्काको केयरिङ भने हुन्छ ।

भान्सामा पनि दुवै अल्छी

हामी दुबैलाई अहिले भान्सामा बसेर खाना बनाउने, एकअर्कासँग सेयर गरेर खाने फुर्सद पनि भइरहेको छैन । म त केही वर्षयता भान्सामा छिरेकै छैन । निश्चललाई पनि भान्सामा खास जाँगर चल्दैन । मेरो हातले बनाएको चिकेन ग्रेभी चाँही उसलाई खुब मनपर्छ । मलाई बनाउन आउने परिकार पनि चिकेन ग्रेभी मात्रै हो ।

निश्चलले भने दुई वर्षअघि बर्गर बनाएर चखाएको थियो घरमै । त्यसपछि कुनै खानेकुरा बनाएको याद छैन ।

हुन त हामी खानामा उस्तो सौखिन पनि होइनौं । खानामा कन्ट्रोल पनि गरिँदैन र छनौट पनि गरिँदैन । घरमा पाक्ने सामान्य दाल(भात भए पुग्छ । भरपेट खाइन्छ ।

खानेकुरामा निश्चल अलि किचकिच गर्छ । उसलाई कतिपय तरकारी मनपर्दैन । भात पकाइदिने भाइहरुसँग भनिरहेको हुन्छ, ‘किन फर्सीको तरकारी पकाएको रु किन यस्तो मिसाएको रु’

मलाइ चाहि खानेकुरामा नकारात्मक टिप्पणी गर्न मन लाग्दैन । विचराहरुले कति दुःख गरेर, कति मेहनत गरेर पकाएको हुन्छ, किन किचकिच गर्नु भन्ने लाग्छ ।

निश्चल नयाँ(नयाँ खानेकुराको स्वाद लिन रुचाउँछ । उसलाई खानेकुुरामा नयाँ प्रयोग गर्न पनि मन लाग्छ । मलाइ चाहीँ त्यस्तो रुची छैन । मुलाको अचार भयो भने अलि धेरै खाना रुच्छ । कोरियन फुड पनि मनपर्छ, पोर्क आइटम भएको ।

हामी दुबै बाहिर जाने, रेष्टुरेन्ट धाउने, अनेकथरी परिकार खाने गर्दैनौं । कति महिनापछि भर्खरै मात्र हामी रेष्टुरेन्टमा गएर डिनर गर्‍यौं ।

त्यसो त निश्चलले पनि मैले खाना पकाउनुपर्छ, ख्वाउनुपर्छ भन्ने सोच्दैन । सुटिङको सेड्युल अनुसार हिँड्नुपर्ने हुन्छ । घरमा खाना पकाउनुछ, ढिलो हुन्छ भनेर सुटिङको सेड्युल लत्याउन कुरा पनि भएन । निश्चलले पनि ‘घरमा पाहुना आउँदैछन्, खाना पकाइदेउ’ भन्ने जस्ता कुरा गर्दैन ।

म बढी रिसालु

खासमा निश्चल र मेरो त्यती झगडा हुँदैन । दुबै उस्तै भएकाले होला, कुराहरु बाझिँदैन पनि ।

कहिले काहीँ कतिपय कुरामा चित्त बुझ्दैन । त्यस्तो अवस्थामा भनाभन गर्ने, झगडा गर्ने चाहीँ हुँदैन । हामी एकअर्कासँग रिसाएपछि बोल्दैनौं । दुबै चुपचाप ।

एकपटक त कतिसम्म भयो भने, तीन दिनसम्म हाम्रो बोलीचाली बन्द । अक्सर म नै धेरै रिसाइरहेको हुन्छु । र, निश्चलले फकाउने गर्छ । मैले उसलाई खासै फकाएको छैन । म रिसाउनु भनेको उसको कारणले हो । उसको कारणले रिसाएपछि उसैले फकाउनु परेन रु

श्रीमान्(श्रीमती भएपछि कति कुरामा मतभिन्नता हुन्छ । यो स्वभाविक जस्तो लाग्छ । तर, हामी चाहिँ दुबै एकै क्षेत्रका र दुबैको काम र भूमिकाबारे सचेत भएकाले होला, मतभिन्नता कम हुन्छन् ।

निश्चल पब्जीको क्रेजी

निश्चलको बानी के छ भने घरमा बसेर पुरा दिन बिताइदिनसक्ने । पब्जी खेल्न पायो भने उसलाई दिन गएको थाहा हुँदैन । निर्लिप्त भएर खेलेको खेल्यै गर्छ । यही कुरामा पनि म अलि गुनासो गर्छु । पब्जी खेल्न छाडेर अलि क्रिएटिभ काम गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

मलाइ चाहीँ घरमा दिनभरी बस्नु परेमा सास्ती हुन्छ । केही न केही नगरी, कतै न कतै नगइ बस्नै नसक्ने । घरमा बसेको बेला साथीकहाँ जान्छु, सपिङमा जान्छु । नभए पनि केही सिकिरहेको हुन्छु ।

घरमा बसेको बेला फुर्सद भएमा म प्राय फिल्म वा युट्युबमा हिन्दी सर्ट मुभी हेरिरहेको हुन्छु । हिन्दी सर्ट मुभी निकै क्रिएटिभ हुन्छन् । मलाई कमेडी फिल्म हेर्न मन लाग्छ । अंग्रेजी फिल्ममा उस्तो रुची छैन । यदि कसैले सिफारिस गरेर हेर्नुपर्छ भन्यो भने मात्र हो, नभए त अंग्रेजी फिल्म नै हेरिँदैन ।

काममा हस्तक्षेप हुँदैन

हालै प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’मा मैले केही अन्तरंग दृश्य दिएकी छु । यस्तो दृश्यमा निश्चलले चासो लिने वा नियन्त्रण गर्न कहिल्यै खोज्दैन । म आफैंले आफ्नो सीमा बुझ्छु । फेरि उ आफैं राम्रो फिल्ममेकर हो । उसले फिल्मको भाषा बुझेको छ ।

कुनै फिल्ममा म काम गर्दैछु भने उसले त्यसमा कत्ति पनि हस्तक्षेप गर्दैन । मैले कस्तो क्यारेक्टर गरिरहेको छु, मेरो संवाद कस्तो छ रु यी कुनै पनि कुरामा उसले चासो राख्दैन ।

निश्चल फिल्ममेकर भएपनि मैले अरुको प्रोजेक्टमा काम गरिरहँदा त्यसमा उसको कुराहरु लाद्न सकिँदैन । किनभने निश्चलले कुनै पनि दृश्यलाई जसरी सोच्छ, अर्को मेकरले त्यो भन्दा फरक ढंगले सोचिरहेको हुन्छ ।

प्रसंगबस् कहिलेकाहीँ फिल्मको कुरा हुनसक्छ, दृश्य, चरित्र वा संवादको कुरा हुनसक्छ । तर, त्यसको लागि एकअर्कालाई सुझाव दिने, हस्तक्षेप गर्ने भन्ने हुँदैन । हामी दुबै एकै क्षेत्रमा भएकाले पनि एकअर्काको मर्म बुझेका छौं ।

निश्चल स्कृप्टको काम गरिरहेको हुन्छ । म अर्कै फिल्मको तयारीमा हुन्छु । उसले के लेख्दैछ, कस्तो लेख्दैछ भनेर मैले चासो राख्ने गरेकी छैन । उनले मलाई आफ्नो पेशामा स्वतन्त्रता र सम्मान दिएको छ भन्ने लाग्छ ।

कतिपय साथीहरुको देख्छु, केही दिन टाढा हुनुपरेमा पनि फोनमा किचकिच भइरहेको । काठमाडौं बाहिर जानु परेमा पनि त्यस्तै हुन्छ । एकातिर कामको प्रेसर अर्कोतिर पार्टनरको । कम्तीमा हामीबीच यस्तो समस्या छैन ।

खासै रोमान्टिक छैनौं

निश्चल र म प्रायः घरमा भएको बेला पनि सामान्य हिसाबले दिनहरु बित्छन् । दुबै आ(आफ्नै काममा मग्न हुन्छौं ।

मिठो मसिनो परिकार बनाएर ख्वाउने, एकअर्कालाई सरप्राइज दिने जस्तो केही पनि हुँदैन । घुम्ने, रेष्टुरेन्ट जाने पनि हुँदैन । हामी आइडल रोमान्टिक जोडी होइनौं । सामान्य ख्यालठट्टा गरेर बस्छौं । निश्चल हेर्दा गम्भीर देखिए पनि आफ्नो नजिकको साथी वा मसँग भने एकदम रमाइलो गर्नुपर्ने मान्छे । उ आफ्नो सर्कलमा खुब रमाइलो गर्छ । ‘प्राङ्क’ गरिरहेको हुन्छ ।

कहिलेकाहीँ हामी यत्तिकै फिल्मको विषयमा कुरा गर्न थाल्छौं । यस्तो चाहिँ कुनै नयाँ फिल्म हेरेर आएको बेला हुन्छ । यस्तो अवस्थामा आ(आफ्नो प्वाइन्ट अफ भ्यूबाट फिल्मबारे तर्क हुन्छ । फिल्मको बारेमा कुरा गर्दागर्दै बेलाबखत चाहिँ निकै लामो समय हामीबीच तर्कवितर्क चल्छ ।

निश्चल ड्रेसअप गर्नै नजान्ने

निश्चललाई ड्रेसअपमा खास चासो हुन्न । उसलाई जस्तो भए पनि लगाउन पाए पुग्छ । एउटा लुगा लगाएर हप्ता दिनसम्म पनि हिँडिदिन सक्छ । आज लगाएको लुगा भोलि लगाउँछ । उसलाई लुगा राम्ररी लगाउन वा टिपटप देखिन रुची नै छैन । जस्तो भएपनि काम चलाउ भए पुग्छ ।

म पनि उतिसारो फेसन कन्सस होइन । अहिले चाहिँ अलि राम्ररी लुगा लगाउनुपर्ने भएकाले यसप्रति सतर्क हुनेगर्छु । आफ्नै कमाइ भएकाले लुगाफाटो किन्न पनि रुची लाग्छ । बाहिर जाँदा मैले सपिङ गर्ने भनेको लुगाफाटा नै हो ।

तर मलाई लुगा लगाउन वा चिटिक्क पर्न त्यति समय लाग्दैन । समय छैन भने १० मिनेटमा पनि म रेडी भइदिन्छु । यदि समय छ भने दुई घण्टासम्म पनि मेकअप नै गरेर बस्छु ।

भद्रगोल दैनिकी

मेरो दैनिकी निकै भद्रगोल छ । कुनै पनि कुरा व्यवस्थित र ठीकठाक छैन । न सुत्ने र उठ्ने तालिका निश्चित छ । न खाने ।

सुटिङमा भएको बेला सुत्ने र उठ्ने ठेगान नै हुँदैन । राति १०, ११ बजे घर पुगिन्छ । कहिलेकाहीँ अलि धेरै काम हुन्छ । थकाई लाग्छ । यस्तो बेला चाहिँ चाडै घर पुगेर सुतिन्छ ।

अहिले मसँग केही फिल्म छन् । त्यसकै लागि व्यस्त हुनुपरेको छ । निश्चल पनि स्कृप्टको काममा छ । दुबै आ(आफ्नो काममा व्यस्त छौं । दुबै खुसी छौं, रमाएकै छौं । स्रोतः अनलाईनखबर