उपभोक्ता समितिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गुगलपाटी संवाददाता काठमाडौंसांसद विकास कोषको रकमबाट विद्युत विस्तारका लागि गरेको खर्चमा १० लाख भ्रष्टाचार गरेको भन्दै उपभोक्ता समितिसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख इन्जिनयर जगदीश शर्मा, कृष्ण पण्डित लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाड्ने काम भई अन्य काम फर्जी भएको पाइएको अख्तियारको आरोपपत्रामा उल्लेख छ।
५ लाख रुपैयाँको पोल गाडेर १५ लाख रुपैयाँ सांसद विकास कोषको रकम भुक्तानी लिएको अख्तियारको अनुसन्धानमा देखिएको छ। निर्माण सामग्री लगायतको झुटा विवरण बनाई उक्त रकम भुक्तानी लिएको अख्तियारले जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीलाई समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीहरुबाट १० लाख रुपैयाँ राज्यकोषमा भराउनुपर्ने दाबी आरोपत्रमा गरिएको छ।