हेटौंडामा स्थायी राजधानी राख्न संगठित पहल सुरु
गुगलपाटी संवाददाता २६ चैत, हेटौंडा ।प्रदेशसभाको हरेक बैठकमा स्थायी राजधानी र प्रदेशको नामको चर्चा हुन थालेपछि जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडामै स्थायी राजधानी कायम गर्न पहल थालेको छ ।
काभ्रे र नुवाकोटबाट राजधानी आफ्नो जिल्लामा सारिनुपर्ने भन्दै संसदमा पत्र दर्ता गरेपछि मकवानपुर जिल्ला समन्वय समितिले पनि स्थायी राजधानी हेटौंडा नै उपयुक्त रहेको भन्दै यहीँ राजधानी कायम गर्न पहल थालेको हो ।
‘पहिला मकवानपुरलाई प्रदेशको राजधानी बनाउने कुरा हाम्रो मनमा थिएन, सरकारले हेटौंडालाई अस्थायी मुकाम तोके पछि हामीमा पनि आशा पलायो अब स्थायी राजधानीको लागि पहल थाल्छौ’ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रधुनाथ खुलालले भने ।
समितिले जिल्ला स्तरीय बैठक राख्दै सोमबारदेखि नै स्थायी राजधानीका लागि पहल थाल्ने निर्णय गरेको छ । पहिलो चरणमा पूर्वाधारका काम थालिने भएको छ भने केन्द्रीय स्तरमा रहेका पार्टीका नेता समक्ष डेलिगेसन जाने निर्णय गरेको हो ।
प्रदेशमा आउने झण्डै ९० प्रतिशत सांसद काठमाडौंबाट आउने हुदा सडक मार्गको रुपमा रहेको हेटौंडा( कुलेखानी – फाखेल( काठमाण्डौं सडकलाई जोखिम मुक्त गराउन सडक डिभिजन मार्फत काम गराउने भएको छ ।
सडक खण्डको भीमफेदी(कुलेखानी खण्डका जोखिम युक्त मोडहरुमा रिफ्लेक्ट ऐनाको प्रयोग गरिने र साना मोडलाई केही फराकिलो बनाउँदै जोखिम न्युनीकरण गर्ने समन्वय समितिको तयारी छ ।
विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहदा हेटौंडा १९ जिल्लालाई पायक पर्ने अहिले कुनो पर्यो, अपायक भो भन्नु संघीयताको अभ्यास बाहिरको कुरा भएको बैठकमा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई बताए । उनले प्रदेशसभामा रहेका अधिकांशको बसोवास काठमाडौं हुँदैमा केन्द्रीय र प्रदेश राजधानी एकै ठाउँमा लैजानु उपयुक्त नहुने बताए ।
चारवटा राष्ट्रिय मार्गले भेट्ने मकवानपुरलाई राजधानी राख्नका लागि अपायक भन्नु आफैमा गलत भएको नेपाली कांग्रेसका सचिव बुद्ध लामाले बताए । ‘जुनसुकै बेला उठ्दा पनि देशका कुनैपनि ठाउँमा जान गाडी पाइन्छ कसरी कुनो र अपायक भयो ?’ उनले प्रश्न गरे ।
पूर्वपश्चिम, त्रिभुवन राजपथ, कान्ति लोकपथ र धरान चतरा मार्ग जस्ता सडक सञ्जालले छोएको जिल्लामा राजधानी रहनुपर्ने उनले बताए ।
राजधानी मकवानपुर बाहेक अन्यत्र सार्नुले फेरि आन्दोलन सुरु हुने प्रतिनिधिसभा सदस्य कृष्ण दाहालले बताए । ‘राजधानी तोक्दा आगो नबलेको प्रदेश हो, अब सरकारले बाल्ने काम गर्न हुँदैन’ उनले भने ।
राजन दाहाल,अनलाईन खबर