देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भयो : कोईराला

गुगलपाटी संवाददाता चैत्र २७,चितवन
२७ चैत्र २०७४ ०७:३७

नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा कम्युनिष्ट शासन सुरु भएको बताइएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कोइरालाले ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको टिप्पणी गरेका हुन् ।
‘न्यायालय कब्जामा लिन थाले, प्रेसमाथि सेन्सरसिप हुने अवस्था आउँदैछ । यो अधिनायकवाद हो’, उनले भने ।
‘अब न्यायाधीश बिदेश जाँदा कार्यकारीको अनुमति लिनुपर्ने व्यवस्था राखियो। यस्ता कारणले भन्न सकिन्छ न्यायपालिका पनि सरकार मातहत आइसकेको छ। टिपिकल कम्युनिष्ट शासनको सुरुवात यहाँ भइसक्यो,’ उनले भने। महान्यायाधिवक्ताको कार्यालय जस्तो संवैधानिक निकाय र अन्य निकाय प्रधानमन्त्री मातहत राख्नु सरकारलाई लगामवीहिन बनाउने योजना भएको उनको आरोप थियो।
आउँदो महाधिवेशनमा पार्टीको नेतृत्व गर्ने आफ्नो चाहना रहेको पनि उनले बताए । नेता कोइरलाले विधान संसोधन गरेर नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिटो गर्नुपर्ने माग गरेका छन्। ‘अहिलेका महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिले विशेष महाधिवेशन गरेर हुँदैन। बरु विधान संशोधन गरेर समयभित्रै १४ औं महाधिवेशन गरौं,’ कोइरालाले भने।