सवारीचालक लाइसेन्स वितरण तीन चरणमा

गुगलपाटी संवाददाता
९ फाल्गुन २०७५ ०२:४९

काठमाडौं : सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन चरणमा वितरण गर्ने भएको छ । सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने तयारी थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको राष्ट्रिय यातायात नीति २०७५ को मस्यौदामा यो विषय समावेश गरिएको छ । मन्त्रालयले तयार गरिरहेको मस्यौदामा प्रशिक्षार्थी, परीक्षणकाल र पूर्णकालीन तहको चरणबद्ध सवारीचालक अनुमतिपत्र दिने उल्लेख छ । प्रशिक्षार्थी चरणमा निजी सवारीसाधन मात्र चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र वितरण हुनेछ भने परीक्षणकालमा हलुका सवारीसाधान मात्र चलाउन पाइन्छ ।

पूर्णकालीन तहमा भने यात्रुबाहक सवारी चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र प्राप्त हुनेछ । मन्त्रालयका सहसचिव शिव नेपालले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सवारीचालक अनुमतिपत्र वर्गीकरण गर्न लागिएको बताए । ‘ट्रायल पास गर्नेबित्तिकै लाइसेन्स पाउने प्रावधान छ । थोरै अनुभव भएका चालकले सवारी चलाउँदा दुर्घटना बढेको अध्ययनले देखाएको छ’, नेपालले भने, ‘त्यसैले एकैपटक लाइसेन्स जारी नगरी चरणबद्ध रूपमा वितरण गर्न खोजिएको हो ।’ सरकारले २०५८ सालमा राष्ट्रिय यातायात नीति तर्जुमा गरी लागू गरेको थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।