लालबाबुले गरे कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया स्थगित

गुगलपाटी संवाददाता चैत्र २७,मोरङ
२७ चैत्र २०७४ ०८:१९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रिया स्थगित गरेको बताएका छन् ।

विराटनगरमा मंगलबार भएको पत्रकारसँगको भेटमा उनले भने, ‘संघीयता कार्यान्वयनको घडीमा राष्ट्रसेवक कर्मचारीलाई विदाईको सट्टा काममा लगाउन आवश्यक भएकाले अवकाश रोकिएको हो ।’ स्वेच्छिक अवकाश अधिकार नभई सुविधा भएको उनको भनाई छ ।
कर्मचारीहरुलाई खटाएको ठाउँमा जान अल्टिमेटम दिइसकेको बताउँदै मन्त्री पण्डितले काममा नखटिने कर्मचारीलाई कानुन सम्मत ढंगले हटाउनसम्म आफु पछि नपर्ने बताए ।

उनले सचिव सरुवा मन्त्री परिषद्को निर्णयले भएको भन्दै कसैले चित्त दुखाउन आवश्यक नभएको बताए। ‘मन्त्रालयहरुमा सचिवहरुको सरुवा क्याबिनेटको निर्णयले भएको छ,’ उनले भने, ‘सचिव सरुवाको अधिकार प्रधानमन्त्रीको भएकोले उहाँसँगै सल्लाह गरेर गरिएकोले यसमा कसैले चित दुखाई गर्नु हुँदैन।’ कर्मचारीहरु खटिसकेपछि नयाँ संरचना अनुसार कर्मचारी समायोजनको प्रक्रिया सुरु गर्ने मन्त्री पण्डितले बताए।