लागूऔषध कारोबारको ‘ट्रान्जिट’ बन्दै मकवानपुर
गुगलपाटी संवाददाताहेटौंडा–अवैध लागूऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा चिनिएको मकवानपुरमा पछिल्लो समय कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
मकवानपुर तथा धादिङका ग्रामीण भेगमा उत्पादन हुने गाँजा तथा चरेश लुकाई छिपाई भारत निकासी गर्न सक्रियहरुलाई प्रहरीले विशेष अभियान नै सञ्चालन गरेर नियन्त्रणमा लिन थालेको हो । गाउँ गाउँमा पुगेर प्रहरीले सूचना संकलन गरी घरघरमै लुकाएर राखिएको लागूऔषध नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
प्रहरीले हेटौंडा तथा आसपासका क्षेत्रबाट दैनिकजसो लागूऔषध कारोबारी पक्राउ गरिरहेको छ । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चालु आबको करिब ७ महिनाको अवधिमा मकवानपुरबाट एकसय २० जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । गत साउन महिनादेखि माघ ९ गतेसम्मको अवधिमा लागूऔषध सम्बन्धी ७४ वटा मुद्दा दर्ता गरिएको छ ।
यस अवधिमा पक्राउ पर्नेमा एकसय ६ जना नेपाली र १४ जना भारतीय रहेका छन् । भारतीय १ जनासहित ६ जना महिला पनि लागूऔषध कारोबारमा सक्रिय भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । ७ महिनाको अवधिमा एक हजार ६ सय १७ किलो गाँजा र ३ सय ५ किलो चरेश बरामद भएको छ ।
१ सय ७३ बोतल लागूऔषध कोरेक्स र ९ सय १९ ट्याबलेट नाइट्रोभेट बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । त्यसैगरी उल्लेख्य मात्रामा डाइजेपाम, ब्यप्रोनोरफिन, फेनारगन, नोर्फिन जस्ता लागूऔषध बरामद गरिएको पनि प्रहरीेले जनाएको छ ।
मकवानपुरको ग्रामीण भेगमा वर्षौँदेखि अवैध लागूऔषध गाँजा र अफिमको खेती हुने गरेको छ । वर्सेनी प्रहरीले फँडानी अभियान नै चलाउँछ तर, पनि धादिङ र मकवानपुरको ग्रामीण भेगबाट उत्तिकै मात्रामा गाँजा मकवानपुरको बाटो हुँदै भारत निकासी हुने गरेको छ । प्रहरीले चालु आवमा मकवानपुरको विभिन्न भेगमा पुगी ३ सय ४३ बिगाह ११ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडाँनी गरेको थियो भने ३३ बिगाहा ९ कट्ठामा रोपिएको अफिम खेती पनि फँडानी गरेको तथ्याङ्क छ ।
गाँजा तथा अफिम फाँडानीको लागि मात्र जिल्ला प्रहरी कार्यालय र ३ नम्बर प्रदेश प्रहरी कार्यालयबाट विभिन्न समयमा १ हजार ४ सय २५ जना प्रहरी जनशक्ति खर्च भएको मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताए । मकवानपुरमा लागूऔषध कारोबारी निकै सक्रिय भएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीले उत्तिकै चलाखीका साथ काम गरेको प्रहरी उपरीक्षक सिंहको भनाइ छ ।
‘लागूऔषध निकासी भइरहँदा पक्राउ गर्ने अभियानका साथ गाउँगाउँमा भएका लागूऔषधका भण्डारमै पुगेर अप्रेशन गर्न सुरु गरेका छौं । लागूऔषधको भण्डारण रहेको क्षेत्रको सूचना संकलन गरी तालिम प्राप्त कुकुरको समेत प्रयोग गरी अवैध लागूऔषध कारोबार नियन्त्रणमा जुटेका छौं ।’ सिंहले भने । कारोबार दैनिकमा समाचार छ ।