पोपले गरे पापी पादरीहरूसँग लड्नका लागि प्रस्ताव

गुगलपाटी संवाददाता काठमाडौं
१० फाल्गुन २०७५ ०६:००

क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रास्सिसले बाल यौन शोषणको प्रतिकार गर्नका लागि भ्याटिकन सिटीमा बिहीवार एक ऐतिहासिक सम्मेलन आरम्भ गरेका छन् ।

क्याथोलिक चर्चमा यस्ता घटनाहरू रोक्नका लागि विश्वले नै ठोस कदम उठाउने आशा गरेको पोपले बताए । यसका साथै उनले शोषणमा संलग्न पापी पादरीहरूलाई सजाय दिनका लागि २१ प्रस्ताव गरेका छन् ।

यस्तो किसिमको पहिलो सम्मेलनको उद्घाटनका बेलामा पोपले ईश्वरका पवित्र भक्त यस्ता शोषणको सामान्य निन्दामा मात्र सन्तुष्ट हुँदैनन् बरू ठोस र सक्षम उपाय चाहन्छन् ।

उनले भने, ‘न्यायको गुहार लगाइरहेका बच्चाहरूको आवाज सुनौं ।’

पोपले गरेको प्रस्तावअनुसार, दोषी पाइएमा पादरीलाई पदबाट हटाउन सकिनेछ । त्यसबाहेक पादरीलाई आरोपी बनाउन्जेल पहिचान उजागर नगर्न समेत प्रस्ताव गरिएको छ । अनि चर्चमा महिलाको बिहेको न्यूनतम आयु १४ देखि १६ सम्म राखिने भएको छ ।

यौन शोषणका घटना लगातार भइरहेकोमा पोप त्यसलाई निर्मूल पार्न चाहन्छन् । उनी बाल यौन शोषणविरुद्ध जागरुकता फैलाउन चाहन्छन् ।

सम्मेलनमा ११४ शीर्ष बिशपलाई यसबारेमा प्रशिक्षित गरिनेछ र उनीहरूले बाल यौन शोषणलाई प्रतिकार गर्न स्पष्ट विचार राख्नेछन् ।

पोप फ्रान्सिसले क्याथोलिक चर्चमा पादरी र बिशपहरूले ननको यौन शोषण गरेको स्वीकार गरेका थिए ।एजेन्सी