आजका पत्रपत्रिकाः प्रयोगमै आएन हेटौंडा उपमहानगरको खाद्य प्रयोगशाला

गुगलपाटी संवाददाता
१३ फाल्गुन २०७५ ०१:१८

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज विभिन्न विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । पक्की सडकमै दूर्घटनाको त्रास, कार्यशैली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, आजदेखि हेटौंडामा ज्ञान, विज्ञान अनुष्ठान, हाँडीखोलाको झोलुङ्गे पुल निर्माणमा निकुञ्जको अवरोध, चार स्वास्थ्य संस्थाको स्तरोन्नती हुनेलगायतका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले डेढ महिनाअघि सञ्चालनमा ल्याएको खाद्य परीक्षण प्रयोगशाला प्रयोगमा आउन नसकेको समाचार आजको समृद्ध समाज दैनिकमा प्रिया पौडेलले लेखेकी छन् ।

प्रयोगशालाको लागि यसवर्ष उपमहानगरले २० लाख छुट्याएकोमा १० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । तर, प्रयोगशालामा परीक्षण गर्ने खाद्य वस्तु नै नआउँदा परीक्षण हुन नसकेको हो । पहिलो चरणमा घिउ, बेसार, मासुलगायतका चार प्रकारका बस्तुहरुको गुणस्तर परीक्षण गर्ने भनिए पनि कुनै पनि खाद्य बस्तुको परीक्षण हुन नसकेको आद्य परीक्षक एलिना न्यौपानेले बताइन् ।

निजी तथा संस्थागत खाद्य परीक्षण गराउन सकिने भए पनि कसैले परीक्षण गराउन ल्याएका छैनन् । उपमहानगरले पनि दैनिक अनुगमन गरी नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गरी अयोग्य भए काराबाही गर्ने भनिए पनि त्यो लागू हुन सकेको छैन ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ