मानव सेवा आश्रमले अनुष्ठानबाट १२ करोड उठाउने

गुगलपाटी संवाददाता
१३ फाल्गुन २०७५ १२:३१

हेटौंडामा आजबाट मानवता प्रवद्र्धन ज्ञान विज्ञान अनुष्ठान सुरु भएको छ । मानव सेवा आश्रमको आयोजनामा हेटौंडा–९ स्थित निर्माणाधिन आश्रम भवनमा अनुष्ठान सुरु भएको हो ।
अनुष्ठानको एक कार्यक्रमका बीच प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा बोल्दै श्रेष्ठले शिक्षा नै मानवको पहिलो खुड्किलो भएको बताए । ‘व्यवसायीक शिक्षा र युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्नुपर्छ’,उनले भने । साथै घरबाट मान्छेलाई सडकमा आउने बातावरण निर्माण हुन नदिन सबै पक्ष लाग्नुपर्ने बताए ।
सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश ३ लाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माणको लागि काम भइरहेको बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिरोध खतिवडा, प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतले बोेलेका थिए ।
आश्रमको भवन र मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को केन्द्रीय अक्षयकोष स्थापनाको लागि अनुष्ठानको आयोजना गरिएको आश्रमका अध्यक्ष रामजि अधिकारीले बताए । यही फागुन २० गतेसम्म सञ्चालन हुने अनुष्ठानबाट करिब १२ करोड रुपैयाँ रकम उठ्ने अनुमान गरिएाको छ । उक्त रकममध्ये दुई करोड भवन निर्माणमा र बाँक दश करोड कोष निर्माणमा खर्चने आश्रमले जनाएको छ ।


मानवसेवा आश्रमको हेटौंडा ९ स्थित भवन निर्माणमा हालसम्म तीन करोड रुपैयाँ खर्च भइसकेको छ । तीन तल्लाको ५२ कोठे भवन निर्माणमा थप दुई करोड रुपैयाँ लाग्ने आश्रमले जनाएको छ ।