यी हुन् ताप्लेजुङ दूर्घटनामा ज्यान गुमाउनेहरु

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७५ ००:२०

ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ।

ताप्लेजुङमा भएको यो यस्तो दुर्घटना हो, जसमा परी पर्यटन क्षेत्रको नेतृत्व तहका व्यक्तित्वहरूको ज्यान गएको छ। मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी लगायत उपसचिव युवराज दाहाल र सुरक्षाकर्मी अर्जुन घिमिरेको ज्यान गएको छ।

साढे ११ बर्षअघि, सेप्टेम्बर २००६ मा ताप्लेजुङमै हेलिकोप्टर दुर्घटना हुँदा डा. हर्क गुरुङ, चन्द्र गुरुङसहित पर्यटन क्षेत्रका स्थापित व्यक्तित्वहरूको ज्यान गएको थियो। बुधबारको हेलिकोप्टर दुर्घटनाले धेरैलाई फेरि त्यो दुर्घटनाको स्मरण गराएको छ।

यी हुन्, ती सात जना जसले बुधबार ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएः 

रवीन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री
हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा ‘हाइ प्रोफाइल’ व्यक्तित्व अधिकारी हुन्। नेकपाका केन्द्रीय सदस्य समेत रहेका उनी वर्तमान सरकारका संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। २०२६ साल बैशाख २२ गते कास्कीमा जन्मेका उनले व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन गरेका थिए। २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश गरेका उनी २०६४, २०७० र २०७४ मा कास्कीबाट तीनपटक निर्वाचित भएका थिए।

आङछिरिङ शेर्पा, प्रबन्ध निर्देशक, यति एयरलाइन्स
आङछिरिङ शेर्पा उड्ययन पर्यटन व्यवसायी हुन्। सन् १९८९ देखि यति एयरलाइन्स संचालनमा ल्याएर व्यवसाय गरेका उनले चीनको तिब्बत एयरलाइन्ससँगको साझेदारीमा केही वर्षयता हिमालय एयरलाइन्सबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका थिए। हवाई व्यवसयामा आउनु अघि शेर्पा ट्राभल एजेन्सी मार्फत ट्रेकिङ व्यवसयामा संलग्न थिए। होटल व्यवसमायमा पनि उनी स्थापित थिए।

वीरेन्द्रप्रसाद श्रेष्ठ, उपमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हुन्। पछिल्लो समय उनी प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा समेत थिए।

ध्रुवदास भोछिभया, इन्जिनियर
नागरिक उड्डयन प्राधिकरणमा निर्देशक रहेका ध्रुवदास इन्जिनियरका रुपमा कार्यरत थिए।

प्रभाकर केसी, पाइलट
प्रभाकर केसी दुर्घटनाग्रस्त हेलिकोप्टरका पाइलट हुन्। फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेका उनी ६–७ बर्षदेखि यो पेशामा थिए। अविवाहित क्याप्टेन केसी निकै मिजासिला थिए। विभिन्न चाडपर्वमा परिवारका सदस्य जम्मा हुँदा रमाइलो गर्न पछि पर्दैनथे। सबैलाई माया र सम्मान गर्ने उनको स्वभाव थियो।

युवराज दाहाल, उपसचिव
झापाका दाहाल प्रधामन्त्री तथा मन्त्री परिषद् कार्यालयको उपसचिवका रुपमा कार्यरत थिए।

अर्जुनकुमार घिमिरे, अंगरक्षक
रामेछापको उमाकुण्ड गाउँपालिका टेकरनासका सैनिक जमदार अर्जुन घिमिरे मन्त्री अधिकारीको अंगरक्षक थिए। अधिकारी पर्यटनमन्त्री नियुक्त भएदेखि नै अंगरक्षको रुपमा रहेका घिमिरेका श्रीमती, एक छोरा, एक भाई र तीन दिदीबहिनी छन्।