सिमभन्ज्याङ क्षेत्रमा भारी हिमपात, सडक र विद्युत् अवरुद्ध (हेर्नुहोस् फोटो फिचर)

गुगलपाटी संवाददाता
१६ फाल्गुन २०७५ ०१:५४

हेटौंडा–केहीदिनदेखि मौसममा फेरबदल आएसँगै मकवानपुरको सिमभन्ज्याङ क्षेत्रमा भारी हिमपात भएको छ । समुद्री सतहबाट २४८८ मिटर उचाईमा रहेको सिमभन्ज्याङमा योवर्षकै सबैभन्दा धेरै हिमपात भएको छ ।

आज बिहान ३ बजेदेखि सुरु भएको हिमपातका कारण त्रिभुवन राजपथ हुँदै आवतजावत गर्ने सवारी साधन ठप्प भएको स्थानीय बसिफाँट माविमा अध्यापनरत शिक्षक यश लामाले जानकारी दिए ।

यसपाला पालुङको शिखरकोटसम्म पनि हिमपात भएको लामाले बताए । आज बिहानैदेखि दामन, पालुङको अलवा भीमफेदी गाउँपालिका–९ स्थित बसिफाँट, अघोर, झिरघारीलगायतका क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

सिमभन्ज्याङ नजिकै रहेको बसिफाँट मावि नजिकै हिउँ खेलिँदै

बुधबार बेलुकी र राती सामान्य वर्षा भएको थियो । बुधबार बिहान पनि सामान्य हिमपात भए पनि आज बिहीबार बिहानबाट भने भारी हिमपात जारी रहेको शिक्षक लामाले जानकारी दिए । बुधबार बेलुकी ९ बजेदेखि सिमभन्ज्याङ, पालुङ, दामन क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ ।

भारी हिमपातसँगै जनजीवन कष्टकर भए पनि हिउँ खेल्न आउने पर्यटकको आवागमन बढ्ने आशामा होटल व्यवसायीहरु भने खुसी भएका छन् । यता मकवानपुरको फाखेल क्षेत्रमा पनि हिमपात भएको छ ।

हिमपातका कारण त्यस क्षेत्र पनि प्रभावित बनेको कुमार पौडेलले जानकारी दिए । हेटौंडालगायत देशभर गएराती भारी वर्षासमेत भएको छ । आज साँझदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले अनुमामन गरेको छ ।

 

तस्बीर सौजन्यः यश लामा
तस्बीर सौजन्यः यश लामा
मकवानपुरको फाखेलमा हिमपात भएपछि ।
तस्बीर सौजन्य: कुमार पौडेल

उल्लेखित तस्बीर बिहीबार बिहान करिब ७ बजेको समयमा खिचिएका हुन् ।