खाजा खर्च बचत गरेर बालवालिकाले दिए छात्रबृत्ति

गुगलपाटी संवाददाता
१७ फाल्गुन २०७५ १४:२९

साना बालवालिकाहरुले अभिभावकसँग दैनिक दश/बीस रुपैयाँ खाजा खर्च लिइरहेको हुन्छ । तर त्यही पैसा जम्मा गरेर हेटौंडा ८ का प्रतिक र प्रकृती घतानेले आफु भन्दा कमजोर बालवालिकाको शिक्षामा सहयोग गरेका छन् ।
कक्षा ४ मा अध्ययनरत प्रतिक र कक्षा २ मा अध्ययनरत प्रकृतिले हेटौंडा १५ शिखरपानीस्थित चुरियामाई माविमा अध्ययरत विद्यार्थीहरुलाई सहयोग गरेका हुन् । उनीहरुले शुक्रबार जन्मदिनको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तान र प्रधानध्यापक विष्णु परियारलाई नगद सहयोग हस्तान्तरण गरे ।

खाजा खर्च बचाएर दश हजार रुपैयाँ जम्मा गरेका प्रतिक र प्रकृतिकै इच्छा अनुसार विद्यार्थीहरुलाई छात्रबृत्तिको लागि सहयोग गरिएको बुवा सागर घतानेले बताए । साथै आगामी पाँच वर्षसम्म निरन्तर छात्रबृत्ति सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । विद्यालयका प्रधानध्यापक परियारले उक्त रकम चार जना विद्यार्थीलाई छात्रबृत्तिको लागि सहयोग गरिने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिक र प्रकृतीले विद्यालय परिसरमा अशोकको बिरुवा समेत बृक्षारोपण गरे । कार्यक्रमा उनीहरुका आमा चन्द्र मल्लको पनि उपस्थिती थियो । तामाङ समुदायका करिब ९० प्रतिशत विद्यार्थी रहेको विद्यालयमा पाँचसय जना विद्यार्थी अध्ययनरत छन् ।