छतिवनमा साहित्यिक कार्यशाला र प्रशिक्षण

गुगलपाटी संवाददाता
२० फाल्गुन २०७५ ००:१७

हेटौंडा–नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा झरना साहित्यिक परिवार मकवानपुरले बालसाहित्यसम्बन्धी कार्यशाला गोष्ठी र काव्य प्रशिक्षण कार्यक्रम गरेको छ ।

आइतबार बकैया गाउँपालिका–४ स्थित महेन्द्र मावि छतिवनमा आयोजित कार्यक्रममा बकैया गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र गढी गाउँपालिकाका १४ विद्यालयका एक सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दीपक गौतमको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले ‘नेपाली बालकथाको रचना विधान र भाषिक प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथी सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल र आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको बालसाहित्य तथा लोकसाहित्य विभागका प्राज्ञ डा. देवी नेपालले काव्य प्रशिक्षण दिएका थिए ।

काव्य प्रशिक्षणमा बकैया गाउँपालिकाका महेन्द्र मावि, बुद्ध मावि, जनक मावि, प्रभात मावि, माटोकोरी आधारभूत विद्यालय र बाघभैरव आधारभूत विद्यालय, हेटौंडा उपमहानगरपालिकाका वंशगोपाल मावि, सहितका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा केशव सिल्वाल, धनप्रसाद तामाङ, मुना अर्याल, शान्ति प्रियबन्दना, सिएम रिमाल, महेन्द्र माविका प्राचार्य नारायण चापागाईँ, उद्धब सापकोटा, लगायतको पनि उपस्थिति रहेको थियो ।

यसअघि शनिबार झरनाले आफ्नो २६औं वर्ष प्रवेशको अवसरमा ५ जना श्रष्टाहरुलाई सम्मान गरेको थियो । मकवानपुरको छतिवनमा २०५० मा स्थापना भएको झरनाले मासिक साहित्य गोष्ठि गर्दै आएको छ । झरनाले पछिल्लो समय ‘सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान’ भन्ने नाराका साथ मकवानपुरका २० भन्दा बढी विद्यालयहरूमा काव्य प्रशिक्षण समेत प्रदान गरेको छ ।