हेटौंडामा ‘आँशुको शक्ति’माथि चर्चा

गुगलपाटी संवाददाता
२१ फाल्गुन २०७५ ०२:४०

हेटौंडा–महिला अधिकारकर्मी सुनिता दनुवारद्धारा लिखित पुस्तक आँशुको शक्तिमाथि मंगलबार हेटौंडामा चर्चा गरिएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानै उमेरमा बेचबिखनमा परेकी दनुवारको संघर्षको कथादेखि अधिकारकर्मीसम्मको अनुभवबारे चर्चा गरिएको थियो । अनुवारले आफ्नो जीवन भोगाईलाई समेटेर लेखिएको पुस्तकको बारेमा साहित्यकार निरा शर्माले समालोचनात्मक टिप्पणी गरेकी थिइन् ।

पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक शर्माले भारतलगायतका विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र अहिले मानव बेचबिखनको अवस्था कस्तो छ भन्ने जस्ता कुराहरु पुस्तकमा समेटिएको बताइन् । मानव बेचबिखनविरुद्ध लड्नको लागि पुस्तक प्रेरणादायी हुन सक्ने उनको भनाइ थियो । कार्यक्रममा अनिता न्यौपाने र भावना सापकोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रमकैबीच शक्ति समूहकी पूर्वअध्यक्षसमेत रहेकी महिला अधिकारकर्मी दनुवारलाई आँचल नारी सम्मान–२०७५ बाट सम्मानित पनि गरिएको थियो । आँचलकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै तामाङले मानव बेचबिखनको क्रम अझै नरोकिएको बरु बेचबिखनको शैली परिवर्तन भएको भन्दै चिन्ता व्यक्त गरिन् ।