इजरायलको सीपले बाँझो बगर हरियो, भन्छन्–पहिले कुरा काट्नेहरु अहिले प्रशंसा गर्दैछन्

केशव समर्पण
२१ फाल्गुन २०७५ ०२:४९

हेटौंडा–६ वर्षको इजरायल बसाईपछि २०६८ सालमा हेटौंडा–१४ का सानु मुक्तान ६० लाख रुपैयाँ पैसा कमाएर नेपाल फर्किए । पैसा मात्र होइन उनले जीवनभर गरी खान सक्ने सीप पनि बोकेर आएका थिए । त्यही सीपको सदुपयोग गर्दै उनी अहिले जिल्लाकै एक उदाहरणीय कृषकको रुपमा कहलिन सफल भएका छन् ।

२६ वर्षीय मुक्तानले त्यतिबेला सीप नभएकाले स्वदेशमै राम्रो कमाई हुने जागिर पाएनन्, आफ्नै कुनै व्यवसाय गर्नलाई पनि केही सम्भावना देखेनन् । अन्ततः मोक्तानको मनमा रोजगारीको लागि विदेश जाने सोच बन्यो । साथीहरुसँग सोधखोजपछि साढे ५ लाख खर्चिएर उनी २०६२ सालमा कृषिमा काम गर्नको लागि इजरायल उडेका थिए ।

साढे ५ वर्षको इजरायलमा जमिन खोस्रिएपछि उनले घर नजिकैको आफ्नै बिगौं बिगाहा बाँझो बगरयुक्त जमिन सम्झिए र त्यहि जमिनमा खेती गरेरै राम्रो कमाइन्छ भन्ने आत्मविश्वास बोकेर ६ वर्षपछि इजरायलबाट घर फर्किए । त्यसैसाल उनले सानु एग्रिकल्चर फार्म दर्ता गरे र २०६९ सालमा १० कट्ठा जमिनमा कागती र अंगुरको विरुवा रोपे । करिब १० लाख रुपैयाँ खर्च गर्दा उनले तत्काल प्रतिफल पाउन सकेनन् ।

गत वर्ष उनले सरकारबाट पनि अनुदान पाउने भएपछि अर्को १३ बिगाहा जमिनमा एग्री नेट हाउस तथा थोपा सिञ्चाई प्रविधि जडान गरेका छन् । तरकारी विकास निर्देशनालयको २१ लाख अनुदान र आफ्नो १४ लाख गरी उनले ३५ लाख रुपैयाँ खर्च गरी तयार भएको नेट हाउसभित्र उच्च मूल्ययुक्त बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् । १३ कट्ठामा फैलिएको नेट हाउसभित्र उनले अहिले सिर्जना जातको गोलभेडा र स्क्वास फर्सी उत्पादन गरिरहेका छन् । नेट हाउस प्रविधिबाट खेती सुरु गरेकै वर्ष उनले करिब चार लाखभन्दा बढी आम्दानी लिइसकेका छन् ।

‘इजरायलबाट फर्किएर बाँझो बगरमा पैसा फालियो, तत्काल प्रतिफल आएन । तै पनि म आत्तिइनँ झनै मैले कृषि क्षेत्र विस्तार गरे, अब राम्रै आम्दानी हुन थालेको छ ।’ मुक्तानले भने । ‘बाँझो बगरमा पैसा मात्र खर्च गरेको भन्दै अनेक कुरा काट्ने गाउँलेहरु पनि अहिले मलाई प्रशंसा गर्न थालेका छन् ।’ नेट हाउसभित्र लगाएको गोलभेँडाले मंसिरदेखि उत्पादन दिन थालेको छ । उनले मंसिरयता गोलभेडा मात्र ११ टनभन्दा बढी बेचिसकेको सुनाए । स्क्वास फर्सी पनि ३ टनभन्दा बढी बेचिसकेका छन् ।

यस अवधिमा उनले फर्सी र गोलभेडा बिक्रीबाट करिब ४ लाख रुपैयाँ बुझिसकेको जानकारी दिए । ‘अझै राम्रो स्याहार गनै सकिए २–३ महिनासम्म उत्पादन लिन सकिन्छ ।’ उनले भने ।  उनलाई परिवारमा आमा, बुबा र श्रीमतीले काममा सघाउने गरेका छन् । बारीमै डिप ट्युबेल निर्माण गरी पानीको स्रोत जुटाएका छन् । पानी तथा आवश्यक भिटामिन हाल्ने, बिउ, बिरुवा रोप्ने, गोड्ने तरिका सबै आधुनिक किसिमका छन् । नेट हाउसभित्र विरुवाको लागि आवश्यक तापक्रम कायम गर्ने व्यवस्था पनि मिलाइएको छ । उनी रासायनिक मल भन्दा गोबर मलमै जोड दिन्छन् । आवश्यकता देखिए मात्रै केही मात्रामा रासायनिक मल र विषादी प्रयोग गर्ने गरेको उनले सुनाए ।

उनले विदेशबाट फर्कने बित्तिकै रोपेको एकसय ५० बोट अंगुर र एकसय ५० बोट कागतीले पनि गतवर्षबाट उत्पादन दिन थालेको छ । कागतीलाई अब थोरै मेहनत गरे पनि वर्षौसम्म आम्दानी लिन सकिने भन्दै उनी खुसी छन् । उत्पादित तरकारीले राम्रो बजार मूल्य नपाउँदा भने उनी दुखी छन् । बजारको राम्रो प्रबन्ध नहुँदा धेरै मात्रामा उत्पादन गर्दा बिक्री नहुने डर हुने र मूल्य निकै कम हुने सम्भावना रहेको उनी बताउँछन् । ‘यतिका धेरै गोलभेँडा र फर्सीले फलाइयो तर, राम्रो मूल्य पाइएन, भारतबाट हुने आयात नरोक्ने हो भने हाम्रो उत्पादनले बजार नै पाउँदैन । सरकारले यतातिर सोच्नुपर्छ ।’ उनले भने ।

अझै क्षेत्र विस्तार गरी विभिन्न तरकारी तथा फलफूलको नर्सरी राख्ने उनको योजना छ । उनी आफूले सिकेको सीप अरुलाई पनि सिकाउँछन् । उनले केही कर्मचारी राखी हेटौंडा बजारमा आधुनिक कृषि उकरणको व्यवसाय पनि एकैसाथ थालेका छन् । उनले कृषि उपकरण विक्रीका साथै कृषकलाई आवश्यक सल्लाह पनि दिने गरेका छन् । उनको फार्ममा दैनिकजसो कृषि कर्म गर्न आउनेहरु बुझ्न र हेर्न आउन थालेका छन् । जिल्लामा उनी एक उदाहरणीय किसान बनेका छन् । भन्छन्–‘मलाई कृषक हुनुमै गर्व छ, अब यो पेशाबाहेक मलाई केही चाह छैन । मात्र सरकारले हामीजस्त किसान उत्थानको लागि काम गरिदिनुप¥यो ।’  आजको कारोबार दैनिकमा समाचार छ ।