हेटौंडामा राष्ट्रिय क्रिकेट टोलीलाई नागरिक अभिनन्दन

गुगलपाटी संवाददाता
२५ फाल्गुन २०७५ ००:२८

हेटौंडा–नेपाली पुरुष क्रिकेट राष्ट्रिय टोलीलाई शुक्रबार हेटौंडामा नागरिक अभिनन्दन गरिएको छ । रक्तक्यान्सरका विरामी हेटौंडेली क्रिकेटर निरज श्रेष्ठको उपचारका लागि आवश्यक रकम जुटाउन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा हेटौंडा आइपुगेको राष्ट्रिय टोलीलाई नागरिक अभिनन्दनसहित हेटौंडा बजार परिक्रमा गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले राष्ट्रिय टोलीका खेलाडीलाई रातोमाटे पुगेर माला, खादा र टिका लगाएर स्वागत गरेका थिए । राष्ट्रिय टोलीका खेलाडीलाई स्वागत गर्दै हेटौंडा बजार परिक्रमा गराइएको थियो ।

राष्ट्रिय टोलीका खेलाडीलाई हेटौंडा बजार परिक्रमा गराउने क्रममा हेटौंडाबासीले खेलाडीको समर्थनमा नाराबाजी समेत गरेका थिए । पूर्वाधारको अभावमा पनि टी–२० क्रिकेट विश्वकप खेलिसके नेपाली राष्ट्रिय टोलीलाई हेटौंडामा स्वागत गर्न पाउँदा नगरबासी समेत खुशी भएका थिए । नेपाललाई एकदिवसीय मान्यता दिलाउने र पहिलो एकदिवसीय सिरिज जितेर नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइसकेका खेलाडीको स्वागातार्थ यहाँका जुनियर तथा सिनियर खेलाडी, खेलक्षेत्रका अग्रजहरुले कुनै कसर बाँकी राखेनन् ।

राष्ट्रिय टोलीले शनिबार हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदानमा हुने प्रतियोगितामा मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ । आयोजक समितिका संयोजक अनुपप्रसाद सेनुरियाले प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम हाल भारतमा क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको थप उपचारमा खर्च गरिने बताए । प्रतियोगिताबाट ३० लाख रुपियाँसम्म आर्थिक संकलन गर्न सकिने लक्ष्य राखिएको भन्दै उनले मकवानपुरलाई क्रिकेटमा चिनाउन सफल व्यक्तित्वको उपचारमा आफूहरुले सक्दो सहयोग गर्न यो कार्यक्रम राखेको बताए ।

च्यारेटी म्याच हेर्नको लागि टिकट दर दुईसय र दुईहजार रुपियाँ रहेको समेत बताए । कार्यक्रमलाई थप आकर्षक बनाउन र उद्देश्य माथि ऐक्यवद्धता जनाउँदै चर्चित गायकहरु सुजिल कर्माचार्य, विजय कार्की, कमल क्षेत्री, विद्या तिवारी तथा फुटबलर रञ्जन विष्ट र अञ्जन विष्टलगायतको पनि सहभागिता रहने लामाले बताए । उनको उपचारमा करिब ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताइएको छ ।