सहकारीलाई उत्पादनसँग जोडिन मुख्यमन्त्रीको आग्रह
गुगलपाटी संवाददाताहेटौंडा–३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीको पूँजी उत्पादनसँग जोडिनु पर्नेमा जोड दिएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सहकारी सञ्चालक कार्यशाला गोष्ठीको उद्घाटन गर्दैै मुख्यमन्त्री पौडेलले सहकारीले निर्माण गरेको ठूलो पूँजी उत्पादनसँग जोडिनु पर्ने बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले सहकारीहरु बचत र ऋण प्रवाहमा व्यस्त भइरहेको भन्दै सहकारीहरु मिलेर ठूलाठूलो मेगा प्रोजेक्टलाई अगाडि बढाउनुपर्ने बताए । उनले सहकारीको लगानीलाई एकतृत र व्यवस्थित गरी औद्योगिक उत्पादनमा लगाउन सुझाव दिए । एकिकृत रुपमा लगानी गर्न आग्रह गर्दै उनले सहकारीको समस्या समाधानमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।
सहकारी सम्बन्धी विधेयक प्रदेशसभामा विचाराधिन रहेको भन्दै उनले प्रदेशभर सहकारीलाई लगानीका लागि प्रेरित गरिने बताए । सहकारीहरुले उत्पादनसँगै बजार पनि खोज्नु पर्नेमा उनले जोड दिए । सहकारीले स्थानीय उत्पादनमा पनि जोड दिनु पर्ने भन्दै उनले सहकारीकै कारण आर्थिक समृद्धि सम्भव रहेको बताए ।