च्यारिटी क्रिकेटमा राष्ट्रिय क्रिकेट टोली विजयी

गुगलपाटी संवाददाता
२६ फाल्गुन २०७५ ००:३०

हेटौंडा–मकवानपुरका पूर्वक्रिकेटर निरज श्रेष्ठको उपचारका लागि शनिबार हेटौंडामा पुरुष राष्ट्रिय क्रिकेट टोली र मकवानपुरबीच च्यारिटी खेल भएको छ ।

रक्तक्यान्सरको उपचार गरिरहेका हेटौंडेली क्रिकेटर श्रेष्ठको सहयोगार्थ नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का नेतृत्वको टोलीले हेटौंडामा मैत्रीपूर्ण खेलमा सहभागिता जनाएका हो । च्यारिटी खेलमा पारस नेतृत्वको टोलीले मकवानपुरलाई दुई विकेटले पराजित गरेको हो

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले एकसय ७२ रनको लक्ष्य प्रस्तुत गरेका थियो । जवाफी ब्याटिङमा उत्रेको राष्ट्रिय क्रिकेट टोलीले अन्तिम ओभरको दुई बल बाँकीहुँदा लक्ष्य भेट्टाएको हो । जवाफमा पारस–११ का लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै २ बल बाँकी रहँदा २ विकेटको जित दिलाए । एक समय ५६–५ को निकै कमजोर स्थितिमा रहेको पारस–११ का लागि सोमपाल कामी र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरे ।

नवौं विकेटका लागि ७८ रनको साझेदारी गर्ने क्रममा सोमपालले २९ रन जोडे । दिपेन्द्रले नटआउट ६२ रनको योगदान दिए । खेल दौरान विभिन्न संघ संस्था तथा व्यक्तित्व हरुले नगद सहयोग गरेका थिए । यसक्रममा कप्तान पारस खड्काले व्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरेका थिए । फुटबल खेलाडीद्वय रञ्जन र अञ्जन विष्टले पनि दशहजार रुपैयाँ सहयोग गरे । अन्य खेलाडीहरुले पनि व्यक्तिगत सहयोग गरेका छन् । मकवानपुरको स्थानीय खेलाडीहरुको भरिएको टोलीको नेतृत्व रामनरेश गिरीले गरेका थिए ।

यता पारस–११ टोलीमा भने राष्ट्रिय टोलीका खेलाडीका साथै फुटबल खेलाडीद्वय रन्जन र अन्जन विष्ट रहेका थिए । पारस–११ बाट सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, अनिलकुमार शाह, अमित श्रेष्ठ, महबुब आलम, आरिफ शेख, सन्दीप जोरा, अमित श्रेष्ठ, अनिल मण्डल लगायतले खेलेका थिए । मकवानपुर क्रिकेट एकेडमी, मकवानपुर जिल्ला क्रिकेट संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको च्यारिटी खेलमा अन्य कला क्षेत्रका व्यक्तित्वहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एक खेलाडीको रुपमा क्रिकेटलाई मकवानपुर क्षेत्रमा स्थापित गर्ने व्यक्तित्वको सहयोग गर्न आफू उपस्थित रहेको बताए । ‘हामीसँग राष्ट्रियस्तरमा खेल्ने रामनरेश गिरीको क्रिकेट अभिभावकको रुपमा उहाँलाई चिनेका थियौं । मकवानपुरमा क्रिकेट स्थापित गर्न उहाँको योगदान निकै ठूलो रहेछ । अहिले क्यान्सरबाट ग्रसित हुँदा हामीले आफ्नो स्थानबाट सहयोगको अपिल गर्दैछौं,’ उनले भने, ‘सकेसम्म धेरै रकम जम्मा होओस् भन्ने हामीले चाहेका छौं । उठेको रकमले उपचार सफल होस् भन्ने कामना गर्दछु ।’