चीनबाट गाई ल्याउने सम्झौताको दुग्ध उत्पादकको विरोध

गुगलपाटी संवाददाता
२७ फाल्गुन २०७५ ००:३०

हेटौंडा– प्रदेश तीन सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौताको केन्द्रीय दुग्ध सहकारी संघ नेपालले विरोध गरेको छ । प्रदेश ३ र गण्डकी प्रदेशले चीनबाट ४ हजार गाई खरिद गर्ने भनी सम्झौता गरेपछि केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवद्र्धन गर्नु पर्नेमा विदेशबाट गाई ल्याउने सम्झौता गरेको भन्दै संघले विरोध गरेको अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए । उनले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारहरुले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको आरोप लगाए ।

प्रदेश ३ को सरकारले १७ फागुनमा चाइना एकेडेमी कल्चरल मेकानाइजेसन साईन्स (क्याम्स) सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ । संघका अध्यक्ष देवकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको पनि दावी गरे । उनले नयाँ जातको घाँस, दुध र दुधको परिकार बनाउनका लागि आवश्यक प्रविधि भित्र्याउन पनि सरकारसँग माग गरे ।