आजका पत्रपत्रिकाः हेटौंडाका कुखुरामा ‘बर्ड फ्लु’, कमाने क्षेत्रमा प्रशासनले ग¥यो शील

गुगलपाटी संवाददाता
१ चैत्र २०७५ ०२:२१

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले हेटौंडा–८ कमानेमा रहेको कुखुरामा बर्ड फ्लु रोग देखा परेको समाचार प्रमुखताका साथ छापेका छन् । साथै हिजो विप्लव निकट नेकपाले गरेको बन्दको प्रभाव सम्बन्धी समाचार पनि प्राथमिकता पाएका छन् ।

बन्दको कारण हेटौंडा औद्योगिक क्षेत्रको उद्योगहरुले एकैदिन ४० करोड गुमाएको समाचार पनि छ । भूकम्पपीडितको गुनासोको अन्तिमपटक सुनुवाई गर्दैै चैत १५ गतेदेखि सर्वेक्षण गर्ने समाचार पनि छापिएको छ ।

फागुनको पहिलो हप्तामा मकवानपुर जिल्लामा करिब १५ हजार कुखुरा लगातार मरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले ल्याब परीक्षणका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा नमूना पठाएकोमा मरेको कुखुरामा बर्ड फ्लु भएको पुष्टी भएको हो ।

मन्त्रालयले नमूना परीक्षणपश्चात् बर्डफ्लु भएको पुष्टि गरेको हो। बर्डफ्लु भएको पुष्टि भएपछि बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको संयोजकत्वमा आकस्मिक बैठक बस्दै चार किल्ला तोकेर कुखुरा तथा अण्डा बेचबिखन तत्काल रोक्न निर्देशन दिएको छ ।

‘मन्त्रालयबाट बर्डफ्लु भएको पुष्टि भएको पत्र प्राप्त हुनसाथ हामीले आकस्मिक बैठक बसेर कुखुरा तथा अण्डा विक्रीमा रोक लगाइसकेका छौँ। हामीले चार किल्लासमेत तोकिसकेका छौँ । हाम्रो प्राविधिक टोली फिल्डमा खटिसकेको छ’, प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

तामाङका अनुसार कमाने पूर्वमा हेटौँडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अद्राक्ष मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको छ। ‘मन्त्रालयबाट प्राप्त भएको पत्रअनुसार फागुन २८ गते पुष्टि भएको रहेछ । हामीले जानकारी प्राप्त गर्नेबित्तिकै बैठक बसेर आवश्यक कामको थालनी गरिसकेका छौँ’, उनले भने । उनका अनुसार आज बिहानबाट प्राविधिक टोली चार किल्ला शिलबन्दी गरिएको स्थानमा खटिनेछ।

उनले किसानहरूलाई तत्काल यस विषयमा जानकारी गराउने काम भइसकेको र त्यसक्षेत्रका किसान तथा उपभोक्तालाई समेत सचेत बनाउने कार्य भइरहेको जानकारी दिए । आजै कमाने क्षेत्रका कुखुरा नष्ट गरिनेछ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ